राजविराज– सप्तरीको खडक नगरपालिका– ५ का ७० वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीय बेचनीको हत्या अनुसन्धानमा कठिनाइ देखिएको छ। शरीरको अधिकांश भाग जलेकाले सबुरीको डिएनए परीक्षण गर्न कठिनाइ भएको सप्तरीका एसपी राजेन्द्र विष्टले बताए।
घटनास्थलबाट अनुमानका भरमा दुवैको शरीरका केही अंग संकलन गरे पनि डिएनए परीक्षण गर्न कठिनाइ भएको उनले जानकारी दिए। ‘अनुमानका भरमा संकलन गरेका अंगमध्ये दाँतको डिएनए परीक्षणबाट बेचनीको शव पहिचान हुने थियो,’ विष्टले भने, ‘तर, दाँत नै नभएका कारण सबुरीको शव पहिचान गर्न समस्या भएको छ।’
खडक नगरपालिका– ५ स्थित खरचुहिया बजारका सबुरी र उनकी पत्नी बेचनीदेवीको गत मंगलबार बिहान अज्ञात समूहले हत्या गरेको थियो। कोठाभित्रै जलाइएको अवस्थामा उनीहरुको शरीरका केही अंग प्रहरीले संकलन गरेको छ। वृद्ध सबुरीको अन्य सबै अंग जलेको र दाँत पनि नभएकाले डिएनएको विकल्प नहुँदा फरेन्सिक एक्स्पोर्ट पनि अलमलमा परेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ।
अनुसन्धान टोली चार दिनदेखि कडरवोनामै
सबुरी र बेचनीको हत्याको वास्तविकता र हत्याराको पहिचान गर्न प्रहरी टोली चार दिनदेखि घटनास्थलमा खटिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरी, इलाका प्रहरी कार्यालय कडरवोना तथा प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली अनुसन्धानका लागि खटिएको एसपी विष्टले जनाएका छन्।
‘ब्यूरोबाट ५ र सप्तरी प्रहरीको ५ गरी १० जनाको विशेष टोली खटिएको छ,’ उनले थपे, ‘त्यस बाहेक २० जनाको टोली उनीहरुको सहयोगका लागि परिचालित गरेका छौं।’
शंकास्पद व्यक्तिलाई सोधपुछ गर्ने, कतिपय स्थानमा खानतलासी गर्ने तथा कल डिटेल चेक गर्ने लगायतका अतिरिक्त अनुसन्धानका धेरै पाटोमा प्रहरीले काम गरिरहेको एसपी विष्टको भनाइ छ। सुनसरीको धरानस्थित पूर्व क्षेत्रीय प्रहरी आवासीय माद्यमिक विद्यालयबाट ल्याइएको कुकुरले पनि केही संकेत गरेको उनको भनाइ छ।
तर, हालसम्म घटनाका विषयमा सार्वजनिक गरिहाल्नुपर्ने गरी उपलब्धि नभएको विष्टले बताए।
घटनामा लुटेरा समूहको संलग्नता रहेको प्रहरीले अनुमान गरेको छ। दुई छोरामध्ये जेठा सत्यनारायण उदयपुर सदरमुकाम गाईघाटस्थित खानेपानी कार्यालय र कान्छा तेजनारायण सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्जिनियर भएपछि दम्पती मात्रै घरमा बस्दै आएका थिए।
तर, स्थानीयले भने जग्गा तथा गहना बन्धक राखी ब्याजमा ऋण लगाउने कारोबारमा संलग्न रहेका साह दम्पतीको सोही कारण हत्या भएको हुनसक्ने आशंका गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।