काठमाडौं– पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै प्रहरीले ललितपुरको नख्खुस्थित निवासबाट साइबर ब्युरोको कार्यालय पुर्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्त र श्रेष्ठबीच समाचारको विषयलाई लिएर उत्पन्न विवादबारे ब्युरोमा छलफल भइरहेको छ।
आज बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली श्रेष्ठको घर पुगेको थियो। प्रहरी उच्च स्रोतका अनुसार कार्यालयका एसएसपी सन्तोष खड्काको नेतृत्वमा टोली नख्खुस्थित श्रेष्ठको निवासमा पुगेको हो।
प्रहरी स्रोतका अनुसार श्रेष्ठविरुद्ध ठाडो निवेदन परेपछि छलफलका लागि सम्पर्क गर्ने प्रयास गरिएको थियो। मोबाइलमा सम्पर्क हुन नसकेपछि प्रहरी टोली उनलाई जानकारी गराउन घरमै पुगेको र त्यही टोलीले छलफलका लागि साइबर ब्युरो पुर्याएको स्रोतको दाबी छ।
समाचारको विषयलाई लिएर रास्वपा केन्द्रीय सदस्य पन्तले श्रेष्ठविरुद्ध साइबर ब्युरोमा निवेदन दिएका थिए। श्रेष्ठले पनि पन्तविरुद्ध ब्युरोमै निवेदन दिएका छन्। दुवै पक्षबाट निवेदन परेपछि ब्युरोले दुवैलाई सँगै राखेर छलफल गराउने तयारी गरेको हो। पन्तलाई पनि छलफलका लागि ब्युरोमा बोलाइएको छ।
ब्युरोका एक उच्च स्रोतले श्रेष्ठविरुद्ध ठाडो निवेदन परेकाले छलफलका लागि ल्याइएको जानकारी दिएको छ। घटनाबारे दुवै पक्षको भनाइ सुनेपछि थप प्रक्रिया अघि बढाइने बताइएको छ।
यसअघि पनि पक्राउ परेका थिए श्रेष्ठ
पत्रकार श्रेष्ठ यसअघि साउन २७ गते काठमाडौं प्रहरीबाट पक्राउ परेका थिए। त्यसक्रममा प्रहरीले उनको निवासमा खानतलासी गरी ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री नियन्त्रणमा लिएको थियो।
श्रेष्ठको पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले उनलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो। त्यसपछि उनी भदौ १ गते हिरासतमुक्त भएका थिए।
अहिले पन्त र श्रेष्ठबीच समाचारको विषयलाई लिएर परेको परस्पर निवेदनका आधारमा साइबर ब्युरोमा छलफल अघि बढाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।