काठमाडौं — नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति आपत्ति जनाउँदै उनलाई बिनाशर्त तत्काल रिहा गर्न माग गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले समाचारमा चित्त नबुझेको विषयमा प्रचलित विधिअनुसार समाधान खोज्नुको सट्टा साइबर ब्यूरोमार्फत पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संविधानविरुद्ध रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तले साइबर ब्यूरोमा दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई ललितपुरको नख्खुस्थित निवासबाट पक्राउ गरेको थियो। जनआस्था साप्ताहिकमा पन्तले धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा समाचार प्रकाशित भएको थियो।
महासंघले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्यसत्ताको आडमा स्वेच्छाचारी शैली अपनाइएको भन्दै घटनाको भर्त्सना गरेको छ।
दाहालका अनुसार यस्तो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यताको खिल्ली उडाएको छ।
महासंघले प्रेसविरोधी व्यवहार सच्याउन सरकारको ध्यानाकर्षण गराउँदै समाचारको विषयमा असहमति भए सम्बन्धित निकायमार्फत समाधान खोज्न सम्बद्ध पक्षलाई सचेत गराएको छ। साथै, आफ्नो क्षेत्राधिकारको प्रभावकारी प्रयोग गर्न प्रेस काउन्सिल नेपाललाई पनि आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।