काठमाडौं– असोज १५ गते विर्तामोडमा मृत अवस्थामा भेटिएका झापा अर्जुनधारा तीनपैनीका ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्या भएको ठहरसहित प्रहरी प्रतिवेदन तयार भएको छ।
सुरुमा पौडी खेल्दा डुबेर मृत्यु भएको निष्कर्षमा पुगेको प्रहरीको पछिल्लो प्रतिवेदनमा भने हत्यापछि पोखरीमा लगेर फालिएको ठहर गरिएको छ।
बालकको हत्या भएकाले छानबिन हुनुपर्ने भन्दै विर्तामोडमा शुक्रबार भएको प्रदर्शनका क्रममा एक जनाको ज्यान गएको छ भने अर्का एक गम्भीर घाइते छन्।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी राजकुमार सिलवालले अनुसन्धान प्रतिवेदन तयार गरी सरकारी वकिलको कार्यालयमा पठाइसकेको अवस्थामा पनि प्रदर्शन हुनु र त्यस क्रममा थप एक जनाको मृत्यु हुनु दुःखद भएको बताए।
‘मैले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइसकेको जानकारी गराउँदा–गराउँदै प्रदर्शनले उग्र रुप लियो’, उनले भने।
सुरुवाती अनुसन्धानमा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको देखिए पनि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम रिपोर्टमा बालकको टाउकोमा लागेको चोट ‘निश्चित गर्न नसकिने’ उल्लेख भएपछि पुनः अनुसन्धान गरिएको थियो । सुरुमा बालकको टाउकोमा लागेको चोट जलचरले पुर्याएको क्षतिका रुपमा अनुमान गरिएको थियो।
फुपू नाता पर्ने आफन्तकोमा खेल्न पुगेका बेला सोही घरका कसैले बेस्सरी धक्का दिएपछि भित्तामा टाउको ठोक्किँदा बालकको मृत्यु भएको प्रहरीको पछिल्लो अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । बालकको घटनास्थलमै मृत्यु भएपछि ती आफन्तजनले नजिकको पोखरीमा लगेर शव फ्याँकिदिएको र पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको बयान दिएको प्रहरी प्रतिवेदनमा छ।
बालकको मृत्यु प्रकरणका अनुसन्धानकर्ता डिएसपी सिलवाल हाल जिल्ला फर्किएका छन् । उनको स्थानमा जिल्लाकै अर्का डिएसपी जितेन्द्र बस्नेत आएका छन् । डिएसपी सिलवालले प्रदर्शन नियन्त्रणमा लिने क्रममा आफ्नो हातको औंलामा चोट पुगेपछि उपचारका लागि चन्द्रगढी आएको बताए।
‘मेरो हातको औंला फ्य्राक्चर भएको छ, त्यसैको उपचारका लागि यता आएको छु । मलाई जिल्ला तानिएको औपचारिक जानकारी छैन । अहिले पनि मेरो पोस्टिङ त्यहीँ छ’, उनले भने।
प्रदर्शनले उग्र रुप लिएपछि शुक्रबार बिहान ११ बजेदेखि नै जिल्ला प्रमुख एसपी विष्णु केसीले कमान्ड सम्हालेका थिए।
‘गोली त साढे २ बजेतिर मात्र चलेको हो’, डिएसपी सिलवालले भने।
प्रदर्शनकारी र स्थानीय प्रशासनबीच शनिबार भएको वार्तापछि हाललाई आन्दोलन स्थगित भएको छ । स्थानीय प्रशासनले मृतकका परिवारलाई क्षतिपूर्ति दिने, घाइतेको उपचार गर्ने र बालक सिवाकोटी मृत्यु प्रकरणको गम्भीर अनुसन्धान गर्ने प्रतिबद्धता देखाएपछि आफन्तजन र स्थानीयले प्रदर्शनको कार्यक्रम स्थगन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।