काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरूका परिवारजनलाई भेट गरी समवेदना प्रकट गरेका छन्।
बिहीबार बिहान दिवंगत भएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बुबाआमा र श्रीमतीलाई मन्त्री निवास हरिहरभवन पुगेर अध्यक्ष प्रचण्डले भेट गरेका हुन्। उनले परिवारप्रति समवेदना प्रकट गरेका छन्।
त्यसैगरी व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई भेटी समवेदना प्रकट गरेका हुन्।
तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि काठमाडौँबाट मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार फुङलिङ नगरपालिका १० दारेभीरमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचीभैया र पाइलट प्रभाकर केसी गरी सात जनाकै निधन भएको थियो।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।