काठमाडाैं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीकाे दाहसंस्कार गृह जिल्ला कास्कीमा हुने भएकाे छ। मन्त्री अधिकारीको शवलाई काठमाडाैंमा श्रद्धाञ्जली दिएपछि गृह जिल्ला कास्की लैजाने बताइएकाे छ।
मन्त्री अधिकारीका बुवाआमा तथा परिवारका अन्य सदस्यहरु काठमाडाैंमै रहेपनि अन्तिम श्रद्धञ्जलीका लागि पाेखरा लगिनेछ।
'आज उहाँकाे शवलाई काठमाडाैं ल्याइनेछ र भाेलि पाेखरा ल्याइनेछ', गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका राजनीतिक सल्लाहकार गाेविन्द नेपालीले भने, 'भाेलि उहाँकाे पाेखरामै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिनेछ।'
हेलिकाेप्टर दुर्घटनामा मृत्यु भएका सबैको शव ताप्लेजुङबाट आजै काठमाडाैं ल्याइने तयारी भइरहेको छ। हाल शव राखिएकाे सुकेटार विमानस्थल क्षेत्रमा बाक्लाे हुस्सु लागिरहेकाेले हेलिकाेप्टरले तत्कालै उडान भर्न नसक्ने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।
'वर्षा भइरहेकाे छ। बाक्लाे हुस्सु पनि लागेकाेले भिजिविलिटी कम छ। तत्कालै हेलिकाेप्टर उड्ने सम्भावना छैन', उनले भने, 'माैसम सफा हुने बित्तिकै शव काठमाडाैं पठाउँछाैं।'
शवहरू विमानस्थलबाट पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिने छ। त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेल राखिने कार्यक्रम रहेको बताइएकाे छ।
पहिचान भएका शवहरु आजै परिवारकाे जिम्मा लगाइने छ। दुर्घटनामा दिवंगत भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र उनका अंगरक्षक नेपाली सेनाका जम्दार अर्जुन घिमिरेकाे भने शव पहिचान भएकाे छ। अन्य शवकाे भने पहिचान खुल्न नसकेकाे प्रजिअ भण्डारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।