काठमाडौं- ताप्लेजुङ जिल्लाकाे सुरक्षा समितिकाे बैठक बसिरहेकाे छ। दारेभीरमा बुधबार भएको हेलिकाेप्टर दुर्घटनामा निधन भएकाहरुकाे शव काठमाडाैं ल्याउन आवश्यक पर्ने कानुनी प्रकृया पुरा गर्नका लागि सुरक्षा समितिकाे बैठक बसिरहेकाे प्रमुख जिल्ला अधिकारी अर्जुन ढकालले बताए।
'घटनाकाे सम्पूर्ण जानकारीसहित शवहरुकाे अवस्थाकाे बारेमा सुरक्षा समितिले लिखित पत्र लेख्नुपर्ने हुन्छ', बैठककाे अध्यक्षता गरिरहेका प्रमुख जिल्ला अधिकारी ढकालले भने, 'काठमाडाैंस्थित त्रिवि शिक्षण अस्पताललाई लेखिने पत्रमा शवहरुकाे अवस्था तथा प्रकृतिकाे बारेमा उल्लेख गर्दै पाेष्टमार्टम गरिदिन आग्रहसिहतकाे व्यहाेरा उल्लेख हुन्छ।'
बैठकले घटनाकाे सम्पूर्ण जानकारीसहितकाे व्यहाेरा तथा उद्धारका क्रममा भएका कार्यहरुकाे बारेमा समेत लिखित दस्तावेज राख्नुपर्ने हुन्छ।
दुर्घटनास्थल फुङलिङ नगरपालिका-१०, दारेभिरमा रहेका ३ शवलाई आज बिहान करीब सवा ८ बजेकाे समयमा सुकेटार विमानस्थल ल्याइएकाे छ। प्रजिअ भण्डारीका अनुसार शवलाई बास्केट बनाई प्यारासुटलाई हेलिकाेप्टरमा झुन्ड्याएर सुकेटार ल्याइएकाे हाे। बाँकी रहेका ३ शव ल्याएसँगै अब सबै शव सुकेटार विमानस्थल ल्याइएकाे छ। बुधबार साँझसम्म २ पटक गरी ४ जनाकाे शव सुकेटार ल्याइएकाे थियाे।

'केहीबेरमा सुरक्षा समितिले कानुनी प्रकृया पुरा गर्नेछ, साेपश्चात् काठमाडाैं पठाउने बाटाे खुल्नेछ', भण्डारीले भने। उनका अनुसार हाल सुकेटार विमानस्थलकाे माैसम अनुकुल छैन। 'वर्षा भइरहेकाे छ। बाक्लाे हुस्सु पनि लागेकाेले भिजिविलिटी कम छ। तत्कालै हेलिकाेप्टर उड्ने सम्भावना छैन', उनले भने, 'माैसम सफा हुने बित्तिकै शव काठमाडाैं पठाउँछाैं।'
दुर्घटनामा मृत्यु भएका सबैकाे शव पाेष्टमार्टमका लागि काठमाडाैंकाे त्रिवि शिक्षण अस्पताल ल्याइने छ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो ।
हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक घिमिरे गरी सबै ७ जनाको निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।