काठमाडौं- ताप्लेजुङको फुङलिङ नगरपालिका-१० दारेभिरमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका सातै जनाको शव घटनास्थलबाट उद्धार गरिएको छ।
उनीहरुलाई उद्धार गरी ताप्लेजुङको सुकेटार विमानस्थल ल्याइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डरीले बताए। अब उनीहरुको शव काठमाडौं लैजाने तयारी भइरहेको समेत उनले जानकारी दिए।
बिहीबार बिहानै घटनास्थलमा रहेका तीनजनाको शव सुकेटार विमानस्थल ल्याएको हो।
यसअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ४ जनाको शव बुधबार साँझ नै नेपाली सेनाको नाइटभिजन हेलिकाेप्टरबाट सुकेटार विमानस्थलमा ल्याइएको थियाे।
बुधबार साँझसम्म संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ४ जनाकाे शव विमानस्थलमा ल्याइएको हाे।
प्रजिअ भण्डारीका अनुसार अब कानुनी प्रकृया पुरा गरी आजै काठमाडाैं पठाउने तयारी गरिएको छ।
मन्त्री अधिकारी र उनका अंगरक्षक नेपाली सेनाका जम्दार अर्जुन घिमिरेबाहेक विमानस्थलमा ल्याइएका अन्य शव पहिचान गर्न सकिने खालकाे नभएकाे बताइएकाे छ।
७ जनाकै शव हेलिकोप्टरमा प्यारासुटमा झुण्ड्याएर विमानस्थल ल्याइएको हो।
यसअघि प्रहरी तथा सेनाको टोलीले रातभर घटनास्थलमा शव कुरेर बसेको ताप्लेजुङका प्रजिअ भण्डारीले बताए।
रातभरि नै प्रहरीकाे टाेलीले घटनास्थलमा रही शवहरुलाई कुरेर बसेकाे थियो। रातभर हिमपात भएको र बिहान माैसममा सुधार आएकाेले शव ल्याउन सफल भएको भण्डारीले बताए।
दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक घिमिरे गरी सबै ७ जनाको निधन भएको हो।
यसैबिच मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको छ।
बुधबार साँझ बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठकले हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीकाे राजकीय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेकाे थियाे।
सरकारले मन्त्री अधिकारीको निधनको शोकमा भोलि बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेकाे छ। बिहीबार देशभर र विदेशस्थित कुटनीतिक नियोगमा सार्वजनिक बिदा दिनुका साथै सबै सरकारी कार्यालयहरुमा नेपालकाे राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ।
बैठकले दुर्घटनाका विषयमा छानबिन गरी यथाशिघ्र प्रतिवेदन बुझाउन ४ सदस्यीय छानबिन समिति गठन पनि गरेको छ। पूर्वपर्यटन सचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा गठित समितिमा नेपाली सेनाका सहायक रथी दीपक प्रसाद बास्ताेला, अवकाशप्राप्त महासेनानी क्याप्टन प्रमाेद लामा र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव बुद्धिसागर लामिछाने छन्। 'गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१' अनुसार गठित समितिमा लामिछाने सदस्य सचिवकाे रुपमा रहनेछन्।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।