ताप्लेजुङ- 'अनकन्टार भिरमा आगो बालेर बसिरहेका छौँ, ३ वटा शव रुँघेर, फुरुरु हिउँ झरिरहेको छ, न ओताउने छाना, न राम्रोसँग अडिएर बस्ने ठाउँ, चिप्लिएर झरिहालियो भने एकै पटक तल पुगिन्छ', हेलिकाेप्टर दुर्घटनास्थल ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित मयामको तारेढुङ्गाबाट बुधबार राति ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाकाे आवाज हाे याे।
घटनाबारे जानकारी हुनासाथ सदरमुकामबाट दुर्घटनास्थलतर्फ खटिएका प्रहरी नायब उपरीक्षक थापा करीब ४ बजे घटनास्थलमा पुगेका थिए। घटनास्थल विकट रहेकाेले कतै डोरी राखेर झुन्डिँदै साे ठाउँमा पुगेकाे प्रहरी नायब उपरीक्षक थापाले भने। थापासँगै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी पनि सँगै गएका थिए। भण्डारी साँझ सदरमुकाम फर्किए पनि अहिले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४५ जनाभन्दा बढी सुरक्षाकर्मी शव रुँघेर बसिरहेका प्रजिअ भण्डारीले बताए।
आज बिहानैदेखि भने सुकेटार विमानस्थल र घटनास्थल दुबै स्थानकाे मौसम सफा रहेकाे प्रजिअ भण्डारीले भने। 'माैसम सफा छ, हेलिकाेप्टरका पाइलटले जान सकिने बताएपछि हामी साेतर्फ जाने अन्तिम तयारीमा छाैं', घटनास्थल जानअघि नेपाल लाइभसँग कुरा गर्दै प्रजिअ भण्डारीले भने।
बुधबार मध्याह्नदेखि भने पाथीभरा क्षेत्रमा हुरीबताससहित हिमपात भएको थियो। अहिले पनि केही मात्रामा हिमपात भइरहेको घटनास्थलमै रहेका निरीक्षक थापाले बताए।
बुधबार साँझसम्म नेपाली सेनाको हेलिकप्टरले दुई पटक गरेर ४ शव सुकेटार विमानस्थलमा ल्याएको थियाे। थापाले भने, 'गर्दागर्दै रात पनि पर्यो, मौसम प्रतिकुल भएपछि अरू शव हेलिकप्टरले उठाउन सकेन, मानिसले बोकेर निकाल्न सकिने अवस्था छैन, तीन शव रुँघेर बसेका छौँ, अहिले पुनः हेलिकाेप्टरबाट लैजाने तयारी भएको छ।'
हेलिकप्टरमा बास्केट राखेर शवहरू सुकेटारमा ल्याइएको हो। बिहीबार बिहानसम्म सबै शव सुकेटार विमानस्थलमा सङ्कलन गरिसकेपछि काठमाडाैं ल्याइनेछ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो ।
दारेभीरमा भएको हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक घिमिरे गरी सबै ७ जनाको निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।