काठमाडौं– सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ।
केहीबेर अघि सम्पन्न भएको मन्त्रिपरिषद्को बैठकले ताप्लेजुङमा आज भएकाे हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीकाे राजकीय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेकाे हाे।
बैठकले दुर्घटनाका विषयमा छानबिन गरी यथाशिघ्र प्रतिवेदन बुझाउन ४ सदस्यीय छानबिन समिति गठन पनि गरेको छ। पूर्वपर्यटन सचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा गठित समितिमा नेपाली सेनाका सहायक रथी दीपक प्रसाद बास्ताेला, अवकाशप्राप्त महासेनानी क्याप्टन प्रमाेद लामा र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव बुद्धिसागर लामिछाने छन्। 'गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१' अनुसार गठित समितिमा लामिछाने सदस्य सचिवकाे रुपमा रहनेछन्।
सरकारले मन्त्री अधिकारीको निधनको शोकमा भोलि बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेकाे छ। बिहीबार देशभर र विदेशस्थित कुटनीतिक नियोगमा सार्वजनिक बिदा दिनुका साथै सबै सरकारी कार्यालयहरुमा नेपालकाे राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ।
दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै सरकारले राष्ट्रका लागि अपुरणीय क्षति भएकाे बताएकाे छ। दुर्घटनामा निधन भएका सबै ७ जनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सरकारले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेकाे छ।
यस्ता छन् मन्त्रिपरिषद्काा निर्णय:


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।