काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुको शव उद्धार सुरु भएको छ। उनीहरुमध्ये ४ जनाको शव ताप्लेजुङ विमानस्थलमा ल्याइएको छ भने तीन जनाको शव दुर्घटनास्थलमा नै रहेको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।
तर क-कसको शव ताप्लेजुङ विमानस्थल ल्याइएको भन्ने चाहिँ उनले खुलाउन चाहेनन्।
फुङलिङ नगरपालिका-१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना भएको थियो।
हेलिकोप्टरमा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार थिए।
हेलिकोप्टर पाइलट प्रभाकर केसीले उडाएका थिए।
एयर डाइनेस्टीको कलसाइन एएस ३५० हेलिकोप्टर काठमाडौंबाट आज बिहान साढे ८ बजे उडेको थियो।
काठमाडौंबाट पाइलट प्रभाकर केसीले बिहान ८ बजे ७ जनाको टोलीलाई लिएर तेह्रथुमको चुहानडाँडाका लागि प्रस्थान गरेका थिए। चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न उक्त टोली गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।