काठमाडौं– स्वास्थ्य बिमाका विषयमा संसदमा सार्वजनिक महत्वको जरुरी प्रस्तावका रुपमा पेश भएको छ। सोमबार पूर्व स्वास्थ्यमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले उक्त प्रस्ताव पेश गरेका हुन्।
उनले स्वास्थ्य बिमा ऐन अन्तर्गतका कार्यक्रमलाई देशव्यापी रुपमा लागू गर्नुपर्ने बताएका छन्। गुणस्तरीय औषधि उपकरण र जनशक्तिको प्रबन्ध गरी सातवटै प्रदेशमा पूर्ण क्षमताका अस्पतालको इमर्जेन्सी, आइसियू लगायतको प्रबन्ध गरी सम्पूर्ण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि कानुन, नियम र निर्देशिका बनाई लागू गर्न आवश्यक भएको बताउँदै उनले प्रस्ताव गरेका हुन्। उक्त प्रस्तावमा अञ्जना विसंखे र मनकुमारी जिसीले समर्थन गरेका छन्।
प्रस्ताव पेश गर्दै सांसद अधिकारीले हालसम्म ७ देखि ८ प्रतिशत नेपालीकहाँ मात्रै बिमा कार्यक्रमको पहुँच रहेको बताए। यसमा पनि ५० प्रतिशत भन्दा बढी बिमितले नवीकरण नगरेको भन्दै उनले सोच्न जरुरी रहेको बताए। उनले जनताको जीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रलाई नजरअन्दाज नगर्न संसदको ध्यानाकर्षण गरे।
उनले सरकारी अस्पतालको उपचार सेवाको प्रभावकारिता, उपकरण र जनशक्तिको अभावका विषयमा समेत प्रश्न उठाएका छन्। सरकारले हरेक व्यक्तिको स्वास्थ्यमा कम्तिमा ९ देखि १० हजारसम्म खर्च गर्नुपर्नेमा दुई हजार मात्रै छुट्याएकोप्रति ध्यानाकर्षण गराएका छन्।
स्वास्थ्य मन्त्रालयले सेवा, पूर्वाधार र जनशक्तिको असमान वितरण गरिरहेकोतर्फ पनि उनले सचेत गराए। प्रदेश नं २ मा तीन वटा थप मेडिकल कलेज खोलेर पाँच वटा मेडिकल कलेज हुने अवस्था आउन लागेको सुनिएको बताउँदै प्रश्न गरे, ‘गेटा मेडिकल कलेज खुल्ने आशामा सुदूरपश्चिमबासी १० वर्षदेखि तड्पिरहेका छन्। प्राथमिकता त्यहाँ मेडिकल कलेज खोल्नेमा हुनुपर्छ।’
उनले नेपाली औषधि कम्पनीलाई प्रवर्द्धन गर्न पनि जोड दिए। हाल ४५ प्रतिशत बजार ओगेटेका औषधि कम्पनीलाई सार्वजनिक खरिद ऐनमा विशेष व्यवस्था गर्न सुझाए।
लोक कल्याणकारी राज्यतर्फ सरकार अगाडि बढिरहेको अवस्थामा स्वास्थ्य बिमालाई व्यवस्थित गरिनुपर्ने भन्दै उनले विशेष प्रस्ताव दर्ता गराएका हुन्।
यसैगरी चिकित्सा विज्ञान प्रतिष्ठानलाई एकीकृत गरिनुपर्ने बताउँदै यही संसदले ऐन पास गर्नुपर्नेमा जोड दिए।
बिमाको मोडेलमाथि संसदमा सांसद झाँक्रीको प्रश्न
हाल नेपालमा लागू गरिएको स्वास्थ्य बिमामाथि प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले प्रश्न गरेकी छिन्।
समाजवाद उन्मुख राज्यमा लागू भएको बिमा बजारिया मोडेलको रहेको बताउँदै उनले प्रश्न उठाएकी हुन्। पूर्व स्वास्थ्यमन्त्री तथा सांसद खगराज अधिकारीले स्वास्थ्य बिमाका विषयमा राखेको जरुरी महत्वको प्रस्तावमाथि छलफल गर्ने क्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले भनिन्, ‘स्वास्थ्य बिमा कार्यक्रमको मोडेलमाथि छलफल हुन जरुरी छ।’
हाल हरेक परिवारले २५ सय रुपैयाँ प्रिमियरका रुपमा बुझाउनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले प्रश्न गरिन्, ‘वीर अस्पतालमा मासिक ५० हजार रुपैयाँ तलब भएको कर्मचारी २० हजार कमाउने कर्मचारीको प्रिमियर बराबर कसरी हुन्छ? हामी यो कस्तो प्रणालीको अवलम्बन गरिरहेका छौं?’
नेपालको स्वास्थ्य बिमा प्रणालीले केही व्यक्ति मात्रै मोटाउने अवस्था सिर्जना भएको उनले बताइन्। उनले प्रशासनिक खर्चमा मात्रै ३० प्रतिशत गएको बताउँदै विचौलियाले कमाउने बिमाको वर्तमान मोडेलमाथि नै पुनर्विचार गर्न आग्रह गरिन्।
स्वास्थ्य सेवाको प्रभावकारिता, उपकरण अभाव र सेवाको सुलभताका विषयमा समेत सांसदहरुले संसदमा प्रश्न उठाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।