काठमाडौं- 'साना किसानको समृद्धि : कृषि रुपान्तरण र उद्यमशीलताको विकास' भन्ने मूल नाराका साथ यही फागुन १६ र १७ गते काठमाडौंमा ‘साना किसान सम्मेलन–२०७५’ आयोजना हुने भएको छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड र साना किसान सहकारी संस्थाहरुको आयोजनामा उक्त सम्मेलन हुन लागेको हो।
साना किसानहरुमा उद्यमशीलता विकास गराई कृषि सहकारीमार्फत कृषि क्षेत्रको रुपान्तरण गर्ने अभियानमा साना किसानहरुलाई परिचालन गर्न सघाउ पुग्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष कृष्ण उपाध्यायले बताए।
गरिबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षण जस्ता दिगो विकासका लक्ष्य हासिल गर्न साना किसान सहकारीले महत्वपूर्ण योगदान दिएको अध्यक्ष उपाध्यायको भनाई छ। सम्मेलनमा विभिन्न २८ वटा विषयहरुमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरिनेछ भने निश्कर्षका रुपमा दोश्रो घोषणापत्रसमेत जारी गर्नेछ।
‘यो किसानहरुको राष्ट्रिय सम्मेलन हो। यति ठुलो संख्यामा किसानको उपस्थितिमा राष्ट्रियस्तरमा हुन लागेको यस सम्मेलनबाट प्राप्त हुने सुझाव तथा पृष्ठपोषणले कृषि क्षेत्रको रुपान्तरण र उद्यमशीलता विकास हुनेमा हामी आशावादी छौं,’ अध्यक्ष उपाध्यायले भने।
सम्मेलनमा साना किसान कृषि सहकारी संस्था र यस साना किसान विकास लघुवित्त वित्तीय संस्थामा आबद्ध अन्य सहकारी संस्थाका अध्यक्ष/प्रबन्धक/सदस्य, नियमन निकाय, अन्य सहकारी, लघुवित्त सेवा प्रदायक संस्था, वाणिज्य बैङ्क, विकास बैङ्क एवं लघुवित्त बैङ्क, बिमासेवा प्रदायक, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आदिका प्रतिनिधिहरू, विभिन्न विषयका विज्ञहरू एवं कृषि सहकारीसँग सम्बन्धित व्यक्तित्वहरूसहित करिब १ हजार जनाको सहभागिता रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।