काठमाडौं- नेपाल आयल निगमले ग्यास व्यवसायीसँग आय-व्ययको विवरण माग गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले कमिसन वृद्धिलगायत विभिन्न माग पूरा नगरे आन्दोलन गर्ने भन्दै १० दिनको अल्टिमेटम दिएपछि निगमले आयव्यय विवरण (वासलात) मागेको हो।
व्ययसायीहरु फाइदामा नै चलिरहेको भएपनि घाटा देखाउँदै आएका र आन्दोलनको घुर्की देखाएपछि निगमले उनीहरुको आय व्यय विवरण मागेको बताइएको छ। तर व्यवसायीहरुले भने निगमले खराब नियत राखेर आफूहरूलाई पेल्नका लागि मात्र विवरण माग गरिएको प्रतिक्रिया दिएका छन्।
नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले निगमलाई कुनै व्यवसायीको आयव्यय माग्ने अधिकार नै नभएको भन्दै निगमको गलत नियत बुझेका कारण विवरण नबुझाएको बताए।
‘हामीले १७ गतेदेखि आन्दोलनका कार्यक्रम नै घोषणा गरिसकेका छौं। अहिले आएर नाफाघाटाको हिसाबकिताब माग्नुको कुनै औचित्य छैन,’ भण्डारीले भने।
आफूहरूले कर तिर्ने बेलामा सम्बन्धित निकायलाई सबै विवरण बुझाएको र निगमले आफूहरूसँग माग्नुको सट्टा कर कार्यालयमै गएर विवरण लिनुपर्ने भन्दै भण्डारीले कटाक्षसमेत गरे।
यसैबीच व्यवसायीहरुले आईतबार उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र मन्त्रालयका उच्च अधिकारीहरुलाई समेत भेटेर आफ्ना मागबारे कुरा गरेका छन्।
मन्त्री यादवले माग पूरा गर्न सकारात्मक रहेको प्रतिक्रिया दिएको अध्यक्ष भण्डारीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।