काठमाडौं- सामान्यतया एउटा सवस्टेसनको निर्माण सक्न कति समय लाग्ला? नेपाल विद्युत प्राधिकरणका अनुसार लगातार काम भयो भने बढीमा डेढ वर्ष। तर, प्राधिकरणले नै निर्माण गरेको एक सवस्टेसन सम्पन्न गर्न करीब ११ वर्ष लागेको छ।
सल्यान जिल्लाको शीतलपाटीमा रहेको ३३/११ किलोभोल्ट क्षमताको सवस्टेसनको निर्माण सम्पन्न गर्न करीब ११ वर्ष लागेको प्राधिकरणले जनाएको छ। २०६४ असार २५ गते निर्माण सुरु भएको सो सवस्टेसन शुक्रबार मात्रै औपचारिकरुपमा निर्माण सकिएको घोषणा भएको हो।
सल्यान जिल्लाका ३ हजार र रुकुम पश्चिमका ९ हजार घरधुरीमा विद्युत उपलब्ध गराउन महत्वपूर्ण मानिएको सवस्टेसन निर्माण हुन लामो समय लाग्दा स्थानीय विद्युत उपभोक्ता समस्यामा परेका थिए।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार सो सवस्टेसनको उद्घाटन गरेका थिए। सहजरुपमा विद्युत सेवा उपलब्ध गराउने लक्ष्यका साथ निर्माण सुरु भएको सवस्टेसनको निर्माणकर्ता श्री हरि निर्माण सेवा, राप्ती निर्मल निर्माण सेवा जेभी थियो।
सधैँ समस्यामा फस्दै आएको सो सवस्टेसनको निर्माण सम्पन्न गर्न प्राधिकरणले विशेष पहल गर्दै आएको र हाल आएर मात्र निर्माण सम्पन्न हुन सकेको कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ।
नेपाल सरकार र प्राधिकरणको कूल २ करोड ९३ लाख ५३ हजार ६ सय ६६ रुपैयाँ कूल लागत रहेको सो सवस्टेसन ठेक्का सम्झौता भएको मितिले डेढ वर्षमा सकिनुपर्ने थियो। तर, ठेकेदारले तोकिएको समयमा काम नगर्दा सवस्टेसन निर्माण प्रक्रिया अवरुद्ध भएको थियो।
सवस्टेसन नहुँदा सल्यान र रुकुमका उपभोक्ताले सहजरुपमा विद्युत सेवा पाउन सकेका थिएनन्। एघार वर्षमा १४ मन्त्री फेरिए तर सामान्य सवस्टेसनसमेत नबन्दा स्थानीयले भरपर्दो विद्युत सेवा नपाएको भन्दै पटक-पटक सरकारको ध्यानाकर्षण गराएका थिए। सल्यानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद टेकबहादुर बस्नेतका अनुसार पछिल्लो समयमा प्राधिकरणको सकारात्मक पहलपछि आयोजना सम्पन्न भएको हो।
मन्त्री पुनले आयोजना सम्पन्न हुन लामो समय लाग्नुको पछाडि ठेकेदारको बदमासी रहेको र कानुनी कारबाही नहुँदा ठेकेदारले नै मन्त्री चलाउने अवस्था देखिएको बताए।
मन्त्री पुनले तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारबाही हुने र समयमै काम सम्पन्न गर्नेलाई आगामी दिनका अन्य निर्माण कार्यको अवसर दिने बताउँदै आएका छन्।
कूल ३३ केभी क्षमताको सवस्टेसन निर्माणका लागि ठूलै प्रयास गर्नुपरेको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चालू आवमा ५५ वटा सवस्टेसनको निर्माण र स्तरोन्नति सम्पन्न गर्ने जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।