लहान– प्रदेश २ सरकारले सिरहाको लहान नगरपालिकामा साढे २२ करोड रुपैयाँको लागतमा शित भण्डार निर्माण गर्न थालेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले शनिबार शित भण्डारको शिलान्यास गरेका छन्।
प्रदेशका ८ वटै जिल्लामा शित भण्डार निर्माण गर्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कार्यक्रमअन्तर्गत सिरहाको लहान नगरपालिका ११, पडरियामा १ हजार ५ सय टन क्षमताको शित भण्डार निर्माणको काम सुरु भएको मन्त्री साहले जानकारी दिए।
प्रदेश सरकारको अनुदान सहयोग तथा सप्तरीको शुभनारायण कृषि व्यवसायिक फार्म, विष्णुपुर-१ को साझेदारीमा शीत भण्डार निर्माण हुनेछ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको शीत भण्डारका लागि १ विघा जमिन भाडामा लिइएको फार्मका अध्यक्ष सुरेन्द्र यादवले बताए।
यसअघि गत फागुन २ गते सप्तरीको राजविराज नगरपालिका–१५ स्थित देउरी भरुवामा पनि शीत भण्डार शिलान्यास गरिएको थियो।
संघीय सरकारको ६० प्रतिशत, संघसंस्थाको सेयर २० प्रतिशत तथा स्थानीय र प्रदेश सरकारको २० प्रतिशत लगानीमा निर्माण भइरहेको शीत भण्डारका लागि भ्याटबाहेक २७ करोड ४८ लाख खर्च हुने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।