भैरहवा- उद्योग व्यवसायमैत्री नीति बनाइए मात्र देश समृद्ध बन्ने उद्योगी व्यवसायीले बताएका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६०औं वार्षिक साधारणसभामा बोल्ने सम्बद्ध व्यवसायीले उद्योग व्यवसाय नफस्टाएसम्म रेमिट्यान्सले मात्र देश समृद्ध नहुने तर्क गरे।
प्रदेश ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले उद्योगी–व्यवसायीका समस्या समाधान गर्न दुई तिहाई बहुमतको सरकार केन्द्रित हुनुपर्ने बताए। पाण्डेयले हरेक दृष्टिकोणले सम्पन्न रुपन्देहीलाई नै प्रदेश नम्बर ५ को राजधानी बनाउन माग गरे।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक समृद्धितर्फ लाग्नुपर्नेमा जाेड दिए। नगरलाई बुद्धमय बनाउन लागि परेको उनले बताए।
संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले स्थानीय तहसँगको सहकार्यमा विकास निर्माणका कामहरु समयमै सम्पन्न गर्न संघले आवाज बुलन्द गर्दै आएको जिकिर गरे। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष गुणनिधि तिवारीले निजी क्षेत्रलाई बाइपास गरेर सरकार अगाडि बढ्ने कोसिस गरिरहेको आराेप लगाए। चर्को ब्याजदरले उद्योग–व्यवसाय सञ्चालन गर्न कठिन भएको उनकाे भनाइ थियाे।
संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठले सबैभन्दा सिद्धार्थनगरलाई अगाडि बढाउन सबैले हातेमालो गर्नुपर्ने मत राखे। परासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले निजी क्षेत्रलाई स्थापित गर्ने नाममा विस्थापित गरिएको दाबी गरे।
पत्रकारसहित विभिन्न व्यक्ति सम्मानित
सिद्धार्थ उद्योग वाणिज्य संघले साधारणसभाको अवसरमा विभिन्न विधामा सम्मान प्रदान गरेको छ। संघले उद्योग–व्यवसायको विकासका लागि पत्रकारिताबाट महत्वपूर्ण भूमिका खेलेको भन्दै कारोबार दैनिकका भैरहवा सम्वादाता तथा न्युज ओके साप्ताहिक सम्पादक मनोरञ्जन शर्मा र गौतमबुद्ध सन्देश दैनिकका सह–सम्पादक तथा प्राइम टाइम्स टेलिभिजनका भैरहवा संवाददाता रवीन्द्रप्रताप गुप्तालाई नगदसहित दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको छ।
यस्तै, तेस्रो मुलुक सबैभन्दा बढी निर्यात गर्ने मनोज मोर्डन इन्डष्ट्रिज तिलोत्तमा–५, रुपन्देहीका गोविन्द गोयनका, भारततर्फ सबैभन्दा बढी निर्यात गर्ने जगदम्बा स्पानिङका विरेन्द्र चौरसिया, वाणिज्यतर्फ आदित्य स्टोर्सका आदित्य नारायण कशौधन, उद्योगतर्फ जैसवाल मोर्डन दाल मिलका विन्ध्याचल जैसवाल, एसाेसिएटतर्फ एभरेष्ट रोलिङ इन्डष्ट्रिजका नन्दलाल गोयनकालाई पनि संघले सम्मान गरेको छ।
यस्तै २०७४ सालको एसइई परीक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याउने प्रदीप कुमार गुप्ता, सुनिल पौडेल र रोजी चौधरीलाई पनि संघले सम्मान गरेको छ। यसैगरी संघमा २० बर्षसम्म निरन्तर काम गरेका कर्मचारी उपसचिव खगेन्द्र शर्मा, कार्यालय सहयोगीद्वय मिना शर्मा र सिताराम मालीलाई समेत सम्मान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।