दाङ- दाङ क्षेत्र नं ३ (ख) बाट निर्वाचित प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको अन्तेष्टि गरिएको छ।
उनको दाङ दंगीशरण गाउँपालिका वडा नं ६ बागरखोलामा अन्तिम दाहसंस्कार गरिएको हो। सांसद वलीको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए। त्यस्तै उनको शरीरलाई शोक सलामी पनि पनि प्रदान गरिएको थियो।
अन्तिम श्रद्धाञ्जली दिन प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, नेपाल कम्युनिस्ट पार्टीका सचेतक शान्ता चौधरीलगायत दाङबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तथा प्रदेश सांसद, नेता तथा कार्यकर्ताहरुको बाक्लो सहभागिता थियो।
त्यस अवसरमा शोक मन्तव्य व्यक्त गर्दै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सानै उमेरमा विकासप्रेमी नेताको छवि बनाएका वलीको दुर्घटनामा परी निधन हुनु दु:खद भएको बताए। प्रदेश नं ५ सरकारले सवारी दुर्घटना न्यूनीकरणका लागि 'माननीय उत्तरकुमार वली सडक सुरक्षा योजना' बनाएर अघि बढ्नेसमेत मुख्यमन्त्री पोखरेलले बताए।
साथै प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्तीले वलीको निधनले प्रदेशसभालाई ठूलो क्षति पुगेको बताए। उनले दाङको पश्चिम क्षेत्रको विकासका लागि खेलेको योगदान महत्वपूर्ण रहेको भन्दै वलीको निधनले प्रदेशको विकासमा समेत असर पर्ने बताए।
गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै सांसद वली सवार कार र बस ठोक्किँदा दुर्घटना भएको थियो।
उनकी श्रीमती र दुई छोरा छन्। २०४१ सालमा जन्मिएका सांसद वलीको ३४ वर्षको उमेरमा निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।