काठमाडौं- नख्खु बम विस्फोटमा परी मृत्यु भएका सिंहप्रसाद गुरुङका आफन्तहरुले क्षतिपूर्ति माग गर्दै दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।
ललितपुर महानगरपालिका–४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि शुक्रबार राति भएको बम विस्फोटमा ललितपुर भैंसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मृत्यु भएको थियो। मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। तर उनका आफन्तले भने सुरुमै मेडिसिटी नलगी अल्का अस्पताल लगेकाले उपचारमा ढिलाइ हुँदा मृत्यु भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। 'प्रहरीको लापरबाहीका कारण यस्तो दु:खद घटना भयो,' मृतकका आफन्त अमिर केसीले भने।
गुरुङ सिंगापुर प्रहरीबाट ३ वर्षअघि सेवा निवृत्त भएका हुन्। शुक्रबार बेलुका साथीहरुसँग भेटेर घर फर्कने भएको विस्फोटमा उनी घाइते भएका थिए। उनका श्रीमती र दुई छोराछोरी छन्। गुरुङको निधनपछि श्रीमती घरमै अचेत अवस्थामा रहेको आफन्तले बताए।
यसैबीच, गुरुङको शवलाई पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ।
घटनामा ललितपुर महानगरपालिका–४ बागडोल बस्ने २६ वर्षीया प्रतीक्षा खड्का र नेपाल मेडिसिटी अस्पतालमा कार्यरत नर्स काभ्रे बनेपाकी २५ वर्षीया उरुषा मानन्धर घाइते भएका थिए। उनीहरुको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
विस्फोटनबाट एनसेल कार्यालयको सुरक्षा गार्ड बस्ने घरको सिसा र नजिकैका ५ घरका सिसामा क्षति भएको छ।
आज बिहान अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिँदै गृहमन्त्री रामबहादुर थापा बादलले उनीहरुको सरकारले उपचार गर्ने बताएका थिए।
थापासँगै आइजिपी सर्वेन्द्र खनाल र महानगरीय प्रहरी आयुक्त कार्यालयका डिआइजी शैलेश थापा अस्पतालमा पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।