काठमाडौं– ललितपुर महानगरपालिका–४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि शुक्रबार राति भएको बम विस्फोट घटनमा संलग्न भएको आशंकामा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ।
यसअघि प्रहरीले बम विस्फोट भएको ठाउँ नजिकैको एनसेल कार्यालयका दुई जना सुरक्षा गार्डलाई पक्राउ गरिसकेको थियो।
बाँकी ४ जनालाई प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ। यद्यपि उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन।
विस्फोटमा परी एक जनाको मृत्यु भइसकेको छ भने दुई घाइते भएका छन्। ललितपुर भैंसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घटनामा ललितपुर महानगरपालिका–४ बागडोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्का र नेपाल मेडिसिटी अस्पतालमा कार्यरत नर्स काभ्रे बनेपाकी २५ वर्षीया उरुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
विस्फोटनबाट एनसेल कार्यालयको सुरक्षा गार्ड बस्ने घरको सिसा र नजिकैका ५ घरका सिसामा क्षति भएको छ।
यो पनि : नख्खु बम विस्फोटका घाइतेलाई सरकारले नि:शुल्क उपचार गर्छ : गृहमन्त्री थापा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।