काठमाडौं- झापाको विर्तामोडमा भएको घटना छानबिनका लागि सरकारले समिति गठन गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको गृहमन्त्रीस्तरीय बैठकले गृह मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो। समितिमा नेपाल प्रहरीका डिआइजी रमेशकुमार भट्टराई, सशस्त्रका डिआइजी चिरञ्जीवी अधिकारी र अनुसन्धान विभागका निर्देशक हरिहर पौडेल रहेका छन्। मन्त्रालयले घाइतेहरुको उपचारको उचित व्यवस्था मिलाइएको समेत जनाएको छ।
बालक लक्ष्मण सिवाकोटीका हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयले गरेको प्रदर्शनका क्रममा हिंसा भड्किँदा शुक्रबार विर्तामोडमा एक जनाको ज्यान गएको थियो।
सो प्रदर्शनका क्रममा ४० जना घाइते भएको मन्त्रालयले जनाएको छ। विज्ञप्ति जारी गर्दै मन्त्रालयले क्षति विवरण सार्वजनिक गरेको हो। प्रदर्शनकारीहरुले सशस्त्र प्रहरीको एउटा भ्यान, एउटा निजी गाडी, १२ वटा मोटरसाइकल, एउटा सडक विभागको एउटा एक्स्काभेटर र एउटा ट्यांकरमा तोडफोड गरेको मन्त्रालयले जनाएको छ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गरेको कारबाहीमा अर्जुनधारा ५ का ३० वर्षीय नरेश थापाको गोली लागी मृत्यु भएको र ६ सर्वसाधारण, नेपाल प्रहरीका २७ तथा सशस्त्र प्रहरी बलका ७ जना घाइते भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
असोज १४ गते अर्जुनधारा नगरपालिका ११ स्थित घरबाट हराएका ११ वर्षका बालक लक्ष्मण सिवाकोटीको शव १५ गते विर्तामोड १ बैसाबारीमा फेला परेको थियो। उनको हत्या भएको र हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै स्थानीयवासीले शुक्रबार दिनभर प्रदर्शन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।