काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या भएको १९ दिन बितिसक्दा घटनाका दोषीहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । हत्यामा प्रयोग गरिएको आशंकामा प्रहरीले दुई वटा मोटरसाइकल भने बरामद गरेको छ।
जसमध्ये एउटा चोरीको मोटरसाइकल भएको अनुसन्धान समितिका एक सदस्यले बताए।
निर्माण व्यवसायी गौचनको गत असोज २३ गते गोली हानी हत्या भएको थियो । शान्तिनगरस्थित घरबाट निस्किएलगत्तै गाडीमै उनलाई गोली हानिएको थियो । हत्यापछि अभियुक्तहरु दुई वटा मोटरसाइकलमा भागेका थिए । तिनै मोटरसाइकल प्रहरीले बरामद गरेको हो।
घटनाको छानबिनका लागि डिआइजी गणेश केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले काठमाडौंका फरार गुन्डा समिरमानसिंह बस्नेत लगायतलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको छ।
बस्नेतका सहयोगी लोप्साङ तामाङले घटना लगत्तै हत्याको जिम्मेवारी लिएका थिए । तीन साता हुन लाग्दा पनि प्रहरीले गिरोहका कसैलाई पक्राउ गर्न सकेको छैन । हत्यामा संलग्न व्यक्तिहरुले प्रहरीबाट जोगिन इन्टरनेट कल गरेकाले पनि अभियुक्तहरु पहिचान गर्न ढिला भएको प्रहरी अधिकारी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।