भैरहवा- चर्को बैंक ब्याजदरले मारमा परेको उद्योगी, व्यवसायीहरुले गुनासो गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी ढंगले ब्याजदर वृद्धि गर्दा उद्योग, कलकारखाना र व्यवसाय मात्र नभई समग्र अर्थतन्त्रमा प्रतिकूल असर पारेको व्यवसायीको दाबी छ।
राजनीतिक संक्रमणकालको अन्त्यपछि 'सम्वृद्ध नेपाल, सुखी नेपाली'को परिकल्पना साकार पार्न अव्यवहारिक रुपले बढाइएको ब्याजदर वृद्धिले प्रतिफल प्राप्त गर्न असम्भव जस्तै देखिएको उनीहरुको भनाइ छ।
उद्योग व्यापार संगठन रुपन्देहीले भैरहवामा आयोजना गरेको बैंक व्याजदरसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले एकतर्फी रुपले ऋणको ब्याजदर वृद्धि हुँदा उद्योग व्यवसाय फस्टाउन नसकेको र यसबाट देश समृद्धिको दिशातर्फ जान नसक्ने बताएका हुन्।
कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बैंकहरुले नाफा कमाउनु हुन्न भन्ने पक्षमा उद्योगी, व्यवसायीहरु नरहेको स्पष्ट पारे।उनले उद्योगी, व्यवसायी र बैंक तथा वित्तीय संस्था एक अर्काका पुरक भए पनि ब्याजदर वृद्धि भएपछि चरणबद्ध आन्दोलनमा उत्रिनुपरेको बताए। 'हाम्रो आन्दोलन बैंक तथा वित्तीय संस्थाविरुद्ध होइन, तर इतिहासको पहिलो अभियान नै भन्नुपर्छ आन्दोलनमा उत्रिनुपरेको छ', भण्डारीले भने।'
बैंक र उद्योग व्यवसाय दुवै फस्टाउने हिसाबले अगाडि बढनुपर्नेमा उनले जाेड दिए।
रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले आन्दोलन गर्नु उद्योगी व्यवसायीको रहर नभई बाध्यता भएको जिकिर गरे। उनले बैंकले नाफा नै खानु हुँदैन भन्ने उद्देश्य व्यवसायीकाे नरहेको प्रष्ट पारे।
तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेलले बैंकबिना उद्योग व्यवसाय चल्न नसक्ने र उद्योग व्यवसायबिना बैंक पनि चल्न नसक्ने यथार्थ बुझ्नुपर्ने मत राखे।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष गणेश बेल्बासेले बिना जानकारी तथा आर्थिक तरलता देखाएर ब्याजदर बढाइएकोमा आपत्ति जनाए।
लुम्बिनी इँटा उद्योग व्यवसायी संघका अध्यक्ष थानेश्वर घिमिरेले उद्योग व्यवसाय सञ्चालन गर्न निरुत्साहित बनाइएको जस्तो अनुभुति हुन थालेको धारणा राखे।
कार्यक्रममा उपस्थित सेञ्चुरी बैंकका क्षेत्रीय प्रबन्धक प्रविन दाहालले उद्योग व्यवसायी खुसी भए बैंक तथा वित्तीय संस्थाहरु पनि खुसी हुने जिकिर गरे। लुम्बिनी विकास बैंकका शाखा प्रबन्धक सरोज ज्ञवालीले विदेशी वस्तु आयात गरेर व्यवसाय गर्नुभन्दा स्वदेशमै वस्तु उत्पादन गरेर निर्यात गर्नुपर्नेमा जाेड दिए।
नेपाल बैंक लिमिटेडका शाखा प्रबन्धक यज्ञमुर्ति बस्यालले राष्ट्र बैंकले बैंकहरुलाई मापदण्ड निर्धारण गरेको प्रष्ट पारे।
यता नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक अशोक कुमार पौडेलले राष्ट्र बैंक नीतिगत व्यवस्थापनबाट पछाडि नहटेको बताए। उनले राष्ट्र बैंकको सर्कुलर राम्रोसँग अध्ययन गर्न पनि आग्रह गरे। 'बैंक ब्याजदर घटाउन राष्ट्र बैंकको मात्र मुख ताकेर हुँदैन', उनले भने, 'त्यसमाथि अनुत्पादक क्षेत्रमा लगानी गर्ने परिपाटीको अन्त्य हुनुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।