काठमाडौं- विमानस्थल सेवाशूल्क बापतको २० करोड बक्यौता तिर्न बाँकी रहेको हिमालय एयरलाइन्सले एक करोड रुपैयाँको चेक बुझाएको छ।
‘हिमालयले आइतबारको समय दिएर एक करोड रुपैयाँको चेक बुझाएको छ,’ विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘बाँकी १९ करोड रुपैयाँ किस्ताबन्दीमा तिर्ने लिखित प्रतिबद्धता पत्र पाएका छौं।’
हिमालयले लिखित प्रतिबद्धता पत्रमा सलाम एयरलाई केही समय जहाज भाडामा दिएर त्यसबाट आएको रकम पनि सिधै विमानस्थल कार्यालयलाई बुझाउने प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ।
विमानस्थल कार्यालयका प्रमुख क्षेत्रीले केही दिन अगाडि मात्रै बक्यौता चुक्ता नगरे कानुनले दिएको अधिकार प्रयोग गरेर जहाज ग्राउन्डेड गरिदिने चेतावनीपत्र थमाएका थिए।
विमानस्थल कार्यालयको चेतावनीपछि पहुँचका भरमा बक्यौता नतिरी नियमित जहाज उडान गर्दै आएको हिमालयले बक्यौता चुक्ता गर्ने गरी लिखित प्रतिबद्धता गरेको हो।
निजी हवाइ सेवा प्रदायक कम्पनी हिमालयले प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री भएको केही महिनादेखि विमानस्थल सेवाशुल्क बापतको रकम तिर्नै छाडेको थियो।
विमानस्थल सेवाशूल्क बापतको रकम बढ्दै गएपछि आङछिरिङ शेर्पाले विमानस्थल शुल्क टार्न शक्ति र सत्ता कजाउन सुरु गरेको थिए। तर, विमानस्थल कार्यालयको चेतावनीपछि बाध्य भएर एक करोड रुपैयाँको चेक दिँदै बाँकी रकम किस्ताबन्दीमा चुक्ता गर्ने प्रतिबद्धता गरेको हो।
एयरलाइन्सले विमानस्थल कार्यालयलाई साँवा र विलम्ब शुल्कसहित २० करोड रुपैयाँ तिर्नुपर्ने भएको थियो। तर, एयरलाइन्स कम्पनीका मालिक आङछिरिङले सन् २०१८ को जुलाइदेखि विमानस्थल सेवा शुल्क बापतको रकम दाखिला गरेको थिएन।
एयरलाइन्सले २६ करोडभन्दा बढी रकम तिर्नुपर्ने भएपनि झारा टार्न दुई पटक गरी साढे ६ करोड रुपैयाँ मात्रै तिरेको हिमालयले फेरि बुधबार एक करोड रुपैयाँ तिरेको हो।
रकम तिर्न आनाकानी गर्न थालेपछि विमानस्थल कार्यालयले हिमालय एयरलाइन्सलाई अन्तिम पटक यही माघ ४ गते थप एक महिनाको समयसीमा दिएको थियो।
फागुन ४ गतेभित्र पनि एयरलाइन्स कम्पानीले बक्यौता चुक्ता नगरेपछि विमानस्थल कार्यालयले विमानस्थल सेवा शूल्क कार्यविधि २०६७ अनुसार कारबाही गर्ने चेतावनी पत्र काटेको थियो।
बक्यौत टार्न हिमालय एयरलाइन्स कम्पनीका सञ्चालक आङ छिरिङसहित नेपाल नागरिक उड्डयन प्राधिकरण बोर्ड सदस्य विजय श्रेष्ठसमेत लागिपरेका थिए।
हिमालय एयरलाइन्सले मासिक रूपमा औसतमा करिब ३ करोड रुपैयाँ विमानस्थललाई बुझाउनुपर्छ।
नेपाल–चीन संयुक्त लगानीमा २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्सले अन्तर्रा्ष्ट्रिय हवाई सेवा प्रदान गर्दै आएको छ।
पछिल्लो समय हिमालयले गत कात्तिक १ गतेदेखि काठमाडौं-चोङकिङमा चार्टर उडानमार्फत सिधा उडान गरिरहेको छ।
यसबाहेक हिमालयले मलेसियाको क्वालालम्पुर, साउदी अरबको दमाम, युएईको दुबई र कतारको दोहामा नियमित उडान गर्दै आएको छ।
हिमालयले पहिलो उडान २०७३ जेठ १८ गतेबाट सुरु गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।