काठमाडौं- अस्थिर र घट्दो क्रममा रहेको पुँजी बजारमा सुधार ल्याउन इन्भेस्टर्स फोरमले ७ वटा सुझाव दिएको छ। संघीय संसदको अर्थ समितिले मंगलबारको बैठकमा पुँजी बजारका लगानीकर्ता र नियामक निकायलाई बोलाएको थियो। समितिमा इन्भेस्टर्स फोरमले अहिलेको अवस्थामा पुँजी बजारलाई सुधारको बाटोतर्फ लैजान ७ बुँदे सुझाव दिएको हो।
यस्ता छन् सुझाव :
१) ‘नेपालको पानी जनताको लगानी’ नारा दिएर सरकारले हालै नेपाली जनताबाट १ खर्ब २ अर्ब पुँजी लगानीको योजना सार्वजनिक गरिरहेको अवस्थामा अर्थ मन्त्रालयद्वारा गठित आयोजनाको तालिका बुँदा नम्बर २८ मा वास्तविक क्षेत्रको नियाकम निकाय २०७६ असारसम्म गठन गरिसक्ने योजना रहेकोमा जलविद्युत कम्पनीको सशक्त र बलियो नियामक निकाय तत्काल गठन गर्नुपर्ने।
२) अनलाइन कारोबार प्रणालीको कमिकमजोरी तथा त्रुटिहरु सच्याएर लगानीमैत्री बनाउने।
३) बैंकलाई ब्रोकर लाइसेन्सको निर्णय दिन सुझाव समितिको बुँदा नम्बर २२ को निर्णय तत्काल कार्यान्वयन गर्ने भनिए पनि के कस्तो कारणले कार्यान्वयनमा नआएको हो यथाशीघ्र पत्ता लगाई कार्यान्वयन मा ल्याउन पहल गर्नुपर्ने।
४) सरकारले लगानीकर्ताको हितको लागि ल्याएको प्यानलाई बजारमा साधारण लगानीकर्ताहरुले धेरै ठूलो कर र डरको रुपमा लिएको हुनाले बजारमा यसको नकारात्मक प्रभाव परिरकेको अवस्था छ। प्यानलाई पटकपटक बजार घटाउन प्रयोग भइरहेकाले यो प्यानबाट लगानीकर्ता र राज्यलाई के कस्तो फाइदा हुन्छ भन्ने सरकारको स्पष्ट धारणा र कार्यक्रम आउनुपर्ने।
५) व्यक्तिगत कर्जाको सीमा बढाउनुपर्ने। मौद्रिक नीतिले व्यक्तिगत कर्जाको सीमा घटाई ५० लाख गरिदिएका कारण बाध्य भई सेयर बिक्री गरी कर्जा घटाउनुपर्ने अवस्था सिर्जना भई बजार निरन्तर घटिरहेका कारण कर्जाको सीमा ७५ लाख नै कायम गरिनुपर्ने।
६) नयाँ ब्रोकर लाइसेन्स जारी गर्ने। पुँजी बजारको विकास, विस्तार र आम जनताको पहुँचमा पुर्याउन फ्री इन्ट्री र फ्री एग्जिटको व्यवस्था गरी धितोपत्र बोर्ड र स्टक एक्सचेञ्जद्वारा जारी गरेको सम्पूर्ण मापदण्ड पूरा गर्न सक्ने सबै व्यक्ति तथा संस्थालाई ब्रोकर लाइसेन्स दिइनुपर्ने।
७) सरकारले निर्णय गरिसकेका कतिपय प्रावधानहरु कार्यान्वयनमै जान नसकेका कारण नियामक निकायले त्यस्ता विषयलाई तत्काल कार्यान्वयनको प्रक्रियामा लैजानुपर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।