काठमाडौं- राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न नगर्दै ठेक्का तोडेको इटालियन कम्पनी सिएमसी तनहुँ जलविद्युत आयोजनाबाट पनि बाहिरिएको छ।
आर्थिक रुपमा टाट पल्टिएको कारण देखाउँदै सिएमसीले आयोजनामा काम गर्न नसक्ने जनाएको थियो। पछिल्लो समय लगानी र आयोजना निर्माणकै विषयमा अदालतमा मुद्दासमेत दर्ता गरेको सिएमसीलाई आयोजनाबाट निकाल्ने गरी तनहुँ जलविद्युत कम्पनीले एकतर्फी निर्णय गरेको हो।
कम्पनीले सिएमसीलाई आयोजनाबाट निकालेको आधिकारिक पत्र पठाइसकेको जनाएको छ।
‘मेलम्चीमा काम छाडेर भागेपछि तनहुँ जलविद्युत आयोजनालाई के गर्ने भन्ने विषय उठेको थियो। काम नै नगर्ने भएपछि ठेक्का तोड्नुको विकल्प थिएन,’ ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले भने।
सिएमसीसँगको ठेक्का तोड्ने एकतर्फी निर्णय गरेसँगै आयोजनाको बाँकी काम सक्न अर्को कम्पनीलाई जिम्मा लगाउने तयारी भएको छ। ‘पहिलो चरणका सबै काम गर्ने गरी जिम्मा पाएको सिएमसीले बीचमै काम छोडेपछि विकल्प त खोज्नैपर्यो। हामी प्रक्रियागत ढंगले नै अर्को कम्पनीलाई बाँकी कामको जिम्मा दिन्छौं,' प्रवक्ता अर्यालले भने।
१ सय ४० मेगावाट उत्पादन क्षमताको उक्त आयोजना सन् २०२३ सम्ममा निर्माण गरिसक्ने लक्ष्य लिइएको छ। आयोजना निर्माणको पहिलो चरणमा नै ठेकेदार कम्पनीले काम छाडेको र नयाँ कम्पनी छनोट गर्दा समय लाग्ने भएका कारण निर्माणको काम समयमै सम्पन्न गर्न थप चुनौतीपूर्ण हुने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।