सुरुङ्गा, झापा- झापाको बिर्तामोडमा कर्फ्यु जारी भएको छ।
आज दिउँसो १:३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए।
पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा बिर्ताबजारसम्म कर्फ्यु जारी गरिएको हो।
अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानुनी कारबाहीको माग गर्दै बिर्तामोडमा स्थानीयले आज बिहानैदेखि प्रदर्शन गरेका थिए। सो क्रममा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास तथा रबरको गोली प्रहार गरेको थियो। बिर्तामोडको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो।
दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट बिर्तामोड– १ बैसाबाडीस्थित झाडीमा फेला परेको थियो। विर्तामोड– ५ का सुरेश पोखरेल लगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए।
प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले आज विर्तामोड बन्द गरेका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।