राजविराज– सप्तरीको सप्तकोसी नगरपालिका १ का वडाध्यक्ष नारायण आचार्य र उनका छोरा सुशीलका नाममा डिभिजन वन कार्यालय राजविराजले पक्राउ पूर्जी जारी गरेको दुई महिना पुग्यो। वनका कर्मचारी र प्रहरीसमेत उनीहरुको खोजीमा छन्। तर, लामो समय बितिसक्दा पनि उनीहरुलाई पक्राउ गर्न सकेको छैन।
राष्ट्रिय वन क्षेत्रवाट बालुवा–गिट्टी तस्करी गरेको आरोप लागेका आचार्य बाबुछोरा गत पुस ४ गतेदेखि फरारको सूचीमा छन्। उनीहरुले सप्तकोसी १ को अमाहा खोलाबाट गैरकानुनी रुपमा बालुवा–गिट्टी उत्खनन तथा ओसारपसार गरेको वन कार्यालयको आरोप छ। सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोलीले गत पुस ३ गते बालुवा–गिट्टी तस्करीमा संलग्न आचार्यको ना४त १८४५ नं को ट्याक्टर खोलाबाटै नियन्त्रणमा लिएको थियो।

घटनापछि दुवैलाई पक्राउ गर्न वन कर्मचारीहरु खटिएका छन् भने प्रहरी चौकी फत्तेपुरलाई समेत पत्राचार गरिएको छ। डिभिजन वन कार्यालयले प्रहरी र स्थानीय समुदायले सहयोग नगर्दा आचार्य बाबुछोरालाई पक्राउ गर्न नसकिएको बताउँदै आएको छ भने प्रहरी भने पक्राउपुर्जी जारी गरेको विषयमा जानकारी नै नभएको भन्दै जिम्मेवारीवाट पन्छिँदै आएको छ।
प्रहरीले सहयोग गरे उनीहरुलाई घरबाटै पक्राउ गर्न सकिने डिभिजनल वन अधिकृत धीरेन्द्रप्रसाद सिंह बताउँछन्। ‘हामी साधन स्रोतविहीन छौं,’ सिंहले भने, ‘प्रहरीले सहयोग गरेन, हामी लाचार भयौं।’

वडा कार्यालय मात्र नभई मन्त्री प्रमुख अतिथि रहेको सार्वजनिक कार्यक्रममा सहभागी भइरहँदासमेत वडाध्यक्ष आचार्यलाई पक्राउ गर्न नसकिएको उनले गुनासो गरे। ‘हामीले पक्राउ पूर्जी त जारी गर्यौ, तर पद र पावरका अगाडि केहि गर्न सकेका छैनौं,’ सिंह थपे, ‘फौजदारी अभियोगमा म्याद सकिने कुरा हुँदैन, एकनएक दिन पक्राउ गर्छौं।’
यता, प्रहरी चौकी फत्तेपुरले भने वडाध्यक्ष आचार्य र छोराका नाममा पक्राउ पूर्जी जारी गरिएको विषयमा जानकारी नै नभएको बताउँदै आएको छ। ‘चौकीमा पक्राउ पूर्जी बुझाउने कुरा चाहिँ भएको थियो, तर पत्र आएको छैन,’ सई अमिरी यादवले भने, ‘जिल्ला प्रहरी कार्यालयले पनि हामीलाई त्यस विषयमा जानकारी गराएको छैन।’
मुद्दा पनि दर्ता भएन
बालुवा तस्करीको विषयमा डिभिजन वन कार्यालयले गंगाजली सब डिभिजन कार्यालयका रेन्जर लक्ष्मण यादवलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गर्यो। तर, हालसम्म मुद्दा दर्ता पनि गरेको छैन।
दुवैलाई पक्राउ गरेर मुद्दा दर्ता गर्ने तयारी गरे पनि सफल हुन नसकेको डिभिजनल अधिकृत सिंहले जानकारी दिए। ‘अभियुक्तलाई पक्राउ गरेर मुद्दा दर्ता गर्ने प्रयासमा छौं,’ उनले भने, ‘१०/१५ दिन ढिलो–चाँडो हुन सक्छ, तर हामी उनीहरुलाई पक्राउ गर्ने र मुद्दा दर्ता गर्ने विषयमा दृढ छौं।’
कुनै पनि राजनीतिक दबाब र संरक्षणका भरमा उनीहरुलाई छुट दिन नसकिने सिंहले भताए। ‘ठूलालाई छोड्ने र सानालाई अँठ्याउने गर्न थालेपछि हामी माथि पनि प्रश्न उठ्छ,’ उनले भने, ‘अहिले पनि आचार्यलाई पक्राउ गर्न नसकेको भन्ने भ्रम परिरहेको छ। तर, त्यो भ्रम हामी हटाउँछौं।’
यसअघि शम्भुनाथ नगरपालिका १ का वडाध्यक्ष इन्द्रदेव साहविरुद्ध पनि वन कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो। पूर्व–पश्चिम राजमार्ग किनारका सिसौको रुख काटेको आरोपमा २०७४ माघमा दर्ता भएको साह विरुद्धको मुद्दा विचाराधीन छ।


सम्बन्धित समाचार :
तस्करी आरोपमा छोरासहित वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी
वन कार्यालयले पक्राउ पूर्जी जारी गरेका वडाध्यक्ष मन्त्रीको कार्यक्रममा अतिथि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।