काठमाडौ- नेपालमा शंकास्पद रुपमा बसेको भन्दै २४ जना कोरियन नागरिकलाई अध्यागमन विभागले निष्काशन गरेको छ। उनीहरुको आचरण संदिग्ध देखिएको र उनीहरुले प्राप्त गरेको भिसाको उद्देश्यविपरीत कार्य गरेको पाइएपछि नेपालबाट निष्काशन गरिएको अध्यागमन विभागले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो। २४ जना दक्षिण कोरियाका नागरिकको भिसा रद्द गरी प्रस्थान गरेको मितिले ३ वर्षसम्म नेपाल आउन नपाउने गरि निष्काशन गरिएको छ। अध्यागमन कानुनबमोजिम जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरी असोज २८ गते निष्काशन गर्ने निर्णय भएको हो।
मोरङ जिल्ला, सुन्दरहरैँचा नगरपालिका ७ मोरङ मालाती मार्गस्थित सुन्दरडाँडा क्षेत्रमा रहेको नेपाल न्यु कोभेनान्ट कलेज (एनएनसीसी) नामक शैक्षिक संस्थाको दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा सहभागी भएका थिए।
पर्यटक भिसामा नेपाल आएका उनीहरुलाई धार्मिक क्रियाकलापमा सहभागी भएको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको थियो। सबै कोरियन नागरिकहरुको भिसाको म्याद भने बाँकी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।