राजविराज– डिभिजन वन कार्यालय सप्तरीको फरार सूचीमा रहेका सप्तकोशी नगरपालिका– १ का वडाध्यक्ष नारायण आचार्य प्रदेशमन्त्री सहितको सार्वजनिक कार्यक्रममा अतिथि बनेका छन्।
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह प्रमुख अतिथि रहेको स्थानीय त्रियुगा सहकारी संस्थाको १७औं वार्षिक साधारणसभामा आचार्य अतिथि थिए। छोरा सुशीलसहित आचार्यका नाममा डिभिजन वन कार्यालय सप्तरीले पुस ४ गते नै पक्राउ पुर्जी जारी गरेको छ।
उनीहरुले सप्तकोशी– १ को अमाहा खोलाबाट गैरकानुनी रुपमा बालुवा–गिट्टी उत्खनन तथा ओसारपसार गरेको वन कार्यालयको आरोप छ। दुवैलाई पक्राउ गर्न प्रहरी चौकी फत्तेपुरलाई समेत पत्राचार गरिएको छ।
प्रहरी चौकीका सई अमिरी यादवले भने आचार्य बाबुु÷छोराका नाममा पक्राउ पुर्जी जारी गरेको कुरा जानकारी नभएको बताए।
डिभिजन वन कार्यालयले गंगाजली सब डिभिजन कार्यालयका रेन्जर लक्ष्मण यादवलाई अनुसन्धान अधिकृत तोकेर घटनाको थप अनुसन्धान गरिरहेको छ। उनीहरु विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको डिभिजनल वन अधिकृत धीरेन्द्रप्रसाद सिंहले जानकारी दिए।
सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोलीले गत पुस ३ गते बालुवा–गिट्टी तस्करीमा संलग्न आचार्यको ना४त १८४५ नंको ट्याक्टर खोलाबाटै पक्राउ गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।