पोखरा– पोखरा महानगरपालिका वडा नम्बर २८ कालिकास्थित ओख्लेको भिरमा भएको स्कुल बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पोखरा महानगरपालिकाले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस ओख्लेको भिरमा दुर्घटनामा परेको थियो।
विद्यार्थी, चालक र सहचालकसमेत गरी २२ जना सवार उक्त बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ। दुर्घटनामा परी घाइते भएका अन्य यात्रुहरुको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
पोखरा महानगरपालिकाका नगरप्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन छानबिन समिति गठन गरिएको जानकारी दिए। समितिको संयोजकमा वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी रहेका छन्।
त्यसैगरी समितिका सदस्यहरुमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहेका छन्। गठित समितिले दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयहरुको विस्तृत अध्ययन तथा छानबिन गरी सत्यतथ्यसहित ५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ।
यसका साथै समितिले विद्यालयका सवारीसाधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनुपर्ने सावधानीका सम्बन्धमा आवश्यक सुझावसमेत पेस गर्ने जनाइएको छ।
‘दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ नगरप्रमुख धनराज आचार्यले भने।
घाइते सम्पूर्ण विद्यार्थी, चालक तथा सहचालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले विद्यार्थीको सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताए। यस्ता दुःखद घटना पुनः दोहोरिन नदिन विद्यालयका सवारीसाधनको नियमित जाँच, सुरक्षा मापदण्डको कडाइका साथ पालना र प्रभावकारी अनुगमन गर्न उनले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।