काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन्।
प्रधानमन्त्री ओलीले ललितपुरको एकान्तकुनामा एक कार्यक्रमका बीच नेपाल पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन्। त्यस अवसरमा उनले मुलुक पानी जहाजको नयाँ युगमा प्रवेश गरेको उद्घोष गरे।
प्रधानमन्त्री ओलीले केही महिना भित्रै मुलुकमा पानीजहाज सञ्चालन हुनेगरी आवश्यक स्थान, जनशक्ति र योजनासहित मुलुक अघि बढेको पनि स्पष्ट पारे। उनले पानीजहाज आउँदैन कि भन्नेहरुलाई केही महिना पर्खेपछि पानी जहाज सञ्चालनमा आउने र टिकट पाइने पनि बताए। प्रधानमन्त्री ओलीले आफूले पहिलो पटक प्रधानमन्त्री भएको बेला भारतसँग छलफल गरेको नेपालमा पानी जहाज चलाउने योजनाले अब साकार रुप लिन लागेको पनि जिकिर गरे।
उनले नेपालमा रेलमार्ग भन्दाअघि जलमार्ग सञ्चालनमा आउने विश्वास पनि व्यक्त गरे। प्रधानमन्त्री ओलीले पानीजहाज कार्यालय केहीलाई जागिर खुवाउन नभई देशलाई एक कदम अघि बढाउनका लागि सञ्चालनमा ल्याइएको पनि उल्लेख गरे।

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा सो कार्यालय स्थापना गरिएको र अब छिट्टै राष्ट्रिय झन्डा बाहक पानीजहाज कुदाउने दाबी पनि गरे।
नेपालमा पहिलो पटक २०२७ सालमा पानीजहाज कार्यालय सञ्चालनमा आएपनि प्रकृया अघि बढ्न सकेको थिएन। प्रधानमन्त्री ओलीले भने कार्ययोजनासहित पानीजहाज कार्यालय स्थापना गरिएकाे दाबी गरे।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहने गरी स्थापना गरिएको सो कार्यालयको प्रमुख रजिष्ट्रार रहने व्यवस्था गरिएको छ। सो कार्यालयमा रजिष्ट्रार, उपसचिवसहित १६ जना कर्मचारीको व्यवस्था गरिएको पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। कार्यालयलाई पानीजहाजको दर्ता र पानीजहाज मार्गको व्यवस्थापनसम्बन्धी सम्पूर्ण काम गर्ने जिम्मेवारी दिइएको पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले पानीजहाज खरिदका लागि आवश्यक व्यवस्था गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्विकृति दिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।