काठमाडौं- जिल्ला न्यायाधीशको नाम लिदै ५ लाख रुपैयाँ घुस लिएका जिल्ला अदालत काठमाडौंका नायब सुब्बा भोलानाथ चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल निजामती कर्मचारी संगठनका काठमाडौंका उपाध्यक्ष चालिसेविरुद्ध घुस रकम बराबर विगो दाबी गर्दै मुद्दा दायर गरेको हो।
जिल्ला अदालत काठमाडौंका नासु चालिसे सवारी ज्यान मुद्दामा घुस लिदै गर्दा माघ १७ गते पक्राउ परेका थिए। अख्तियारको टोलीले घुससहित उनलाई जिल्ला अदालत परिसरबाटै पक्राउ गरेको थियो।
अदालतका कर्मचारीले मुद्दा मिलाउन रकम मागेको सूचनाको अधारमा अख्तियारको मुख्य कार्यालय टंगालबाट खटिएको टोलीले नासु चालिसेलाई रंगेहात पक्राउ गरेको थियो।
उनले अख्तियारमा दिएकाे बयानका आधारमा जिल्ला न्यायाधीश बाबुकाजी बानियासमेत तानिएका थिए। उनीमाथि थप अनुसन्धान गर्न न्याय परिषद्मा काजमा हाजिर गराइएको छ।
घुससहित पक्राउ परेका कर्मचारीलाई आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनी ३ वर्षदेखि काठमाडौं जिल्ला अदालतमा कार्यरत थिए। उच्च अदालत पाटनमा सरुवा भए पनि अटेर गरी उनी पुन: जिल्ला अदालतमै बसेका थिए।
उनी नेपाल निजामती कर्मचारी संगठन काठमाडौंका उपाध्यक्ष भएको भन्दै सरुवा हुन अस्वीकार गरेका थिए। संगठनको धम्की दिँदै उनी अदालत नै फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।