काठमाडौं- चालू आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् पुस मसान्तसम्मको अवधिमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार दैनिक उपभोग्य वस्तुको मूल्य बढेको हो।
राष्ट्र बैंकका अनुसार २०७५ पुस महिनासम्ममा वार्षिक बिन्दूगत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत पुगको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.० प्रतिशत मात्रै रहेको थियो।
२०७५ पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षकोे सोही अवधिमा उक्त समूहको मुद्रास्फीति २.४ प्रतिशत रहेको थियो।
गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.१ प्रतिशत रहेको छ। अघिल्लो वर्षकोे सोही अवधिमा उक्त मुद्रास्फीति ५.३ प्रतिशत रहेको थियो।यस समूह अन्तर्गत घरायसी सेवा तथा उपयोगिता, लुगा तथा जुत्ता, यातायात र फर्निसिङ तथा घरायसी उपकरणलगायतका उप-समूहका वस्तु तथा सेवाहरूको मूल्य वृद्धि भएकोले समग्र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको राष्ट्र बैंकको भनाइ छ।
क्षेत्रगत उपभोक्ता मुद्रास्फीति
चालू आवको पुस महिनासम्ममा उपभोक्ता मुद्रास्फीति समेत बढेको छ।
काठमाडौं उपत्यकामा ५.२ प्रतिशत, पहाडमा ४.९ प्रतिशत, हिमालमा ४.५ प्रतिशत र तराईमा ४.० प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः २.९ प्रतिशत, ४.४ प्रतिशत, ५.५ प्रतिशत र ४.४ प्रतिशत रहेको थियो।
नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति २०७५ पुस महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत र भारतको २.०५ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४.० प्रतिशत र भारतको ५.१ प्रतिशत रहेको थियो। थोक मुद्रास्फीति२०७५ पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति २.० प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ९.३ प्रतिशतले वृद्धि भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ६.१ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा तलब सूचकाङ्क ६.६ प्रतिशत र ज्यालादर सूचकाङ्क १०.१ प्रतिशतले वृद्धि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।