दक्षिण कोरिया- काम गर्न कोरिया आउने विदेशी श्रमिकको सुरुका तीन वर्ष परीक्षण अवधि राख्ने गरी संशोधित कानुनको मस्यौदा यहाँको संसदमा पेस भएको छ। संसदको कानुन समितिका सांसद तथा प्रतिपक्षी दल हानकुकका सांसद ई ह्वान यंग लगायत १४ जना सांसदहरुले उक्त कानुनको मस्यौदा पेस गरेका हुन्।
उक्त मस्यौदामा विदेशी कामदार (इपिएसमार्फत आउने) को परीक्षण अवधि तीन महिनाबाट बढाएर ती वर्षमा पुर्याउने उल्लेख छ। गत असोजमा विदेशी कामदारलाई तीन वर्षसम्म परीक्षण अवधिका रुपमा राख्नुपर्ने उद्योगी व्यवसायीको मागलाई सम्बोधन गर्दै उक्त मस्यौदा तयार पारिएको बताइएको छ। अब यो कानुन पारित भएमा इपिएसमार्फत कोरिया प्रवेश गर्ने विदेशी श्रमिकले पहिलो वर्ष तलबको ३० प्रतिशत परीक्षण अवधिको रुपमा रोजगारदाताले कटौती गर्न पाउनेछन्। त्यस्तै दोस्रो वर्ष २० प्रतिशत र तेस्रो वर्ष मात्र पूरा तलब दिने व्यवस्था उल्लेख छ।
अहिले इपिएसमार्फत कोरिया आउने विदेशी कामदारका लागि पहिलो तीन महिना परीक्षण अवधि तोकिएको छ। हाल कोरियाली उद्योगीले कामदारको पहिलो तीन महिनासम्म तलबको १० प्रतिशत रकम कटौती गर्दै आएका छन्। कतिपय कम्पनीले भने उक्त प्रतिशत कटौती नगरी कामदारलाई उपलब्ध गराउँदै आएका थिए।
कोरियामा क्रियाशील मजदुर संगठनहरुले उक्त कानुनले विदेशी मजदुरलाई भेदभाव गरेको भन्दै आन्दोलनमा सरिक हुन मजदुरलाई आग्रह गरेका छन्। प्रवासी मजदुर संगठन (एम टियु) का अध्यक्ष उदय राईले संसदमा पेस भएको विधेयक मस्यौदामा तलब कटौती गर्ने पूर्ण अधिकार कम्पनीलाई दिइएको बताए।
संसदमा पेस भएको उक्त विधेयक अनुसार ऐन बनेको अवस्थामा इपिएसमार्फत कोरिया आउने नयाँ विदेशी कामदारले पहिलो वर्ष तलबको ५० प्रतिशत रकम मात्र पाउनेछन्। यसअघि लागू भइसकेको खानेबस्ने शुल्क २० प्रतिशत र प्रस्तावित परीक्षणकाल अन्तर्गतको ३० प्रतिशत कटौती गरेर पाउने रकम ६० प्रतिशत मात्र हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।