काठमाडौं– नेपालबारे जानकार तथा नेपालीप्रति सदाशयता राख्ने एक नेता वाङ् याङ चिनियाँ कम्युनिस्ट पार्टीको ७ सदस्यीय स्थायी समितिमा चयन भएका छन् । चिनियाँ राजनीतिमा स्थायी समितिका ७ व्यक्ति नै प्रभावशाली मानिन्छन्।
चिनियाँ राजनीतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कता लैजाने ? यो सबै रणनीतिका योजनाकार नै स्थायी समितिका ७ व्यक्तिले गर्छन् । त्यसैले वाङ्को नियुक्तिको विषयमा चीन मामिलाका नेपाली जानकारहरु उत्साहित छन्।
चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्की वाङमार्फत नेपाल–चीन सम्बन्धलाई नयाँ उँचाइमा पुर्याउन सकिने दाबी गर्छन्।
उनले नेपाल लाइभसँग भने–‘नेपालमा चीनको उच्च तहको भ्रमण अहिलेसम्म भएको छैन । राष्ट्रपति सी जिनपिङको भ्रमणका लागि उनीमार्फत पहल गर्न सकिन्छ।’
यसै वर्षको साउन ३१ गते चिनियाँ उपप्रधानमन्त्रीको हैसियतले वाङ्ले नेपाल भ्रमण गरेका थिए । उनी चिनियाँ पूर्व राष्ट्रपति हु जिनताओसँग नजिक मानिन्छन् । उनलाई चिनियाँ कम्युनिस्ट पार्टीभित्र आन्तरिक सन्तुलन मिलाउन राष्ट्रपति सी जिनपिङले स्थायी समिति सदस्यमा मनोनीत गरेका हुन्।
वाङ्ले बाढी प्रभावितका लागि १० अर्ब अमेरिकी डलर सहयोगको समेत घोषणा गरेका थिए । ‘वान वेल्ट वान रोड’ चिनियाँ परियोजनामा नेपाललाई सहयात्री बनाउन उनको भूमिका महत्वपूर्ण थियो।
नेपाल भ्रमणका क्रममा चीन र नेपालबीच आर्थिक क्षेत्रमा तीन महत्वपूर्ण बुँदामा हस्ताक्षर भएको थियो । त्यसबेला भूकम्पपछिको पुनर्निमाण, सीमाक्षेत्रको पूर्वाधारमा सुधार तथा आर्थिक र प्राविधिक क्षेत्रमा सहयोग गर्ने विषयमा सम्झौता भएको थियो।
वाङ्ले भूकम्पपछिको पुनर्निमाणका लागि १ अर्ब ५० करोड रुपैयाँ चिनियाँ सहयोगको घोषणा गरेका थिए । यस्तै, रसुवा जिल्लाको टिमुरे पुल निर्माणमा सहयोग गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको थियो।
एमाले अध्यक्ष केपी ओलीको पालामा चीनसँग ग्यास उत्खननका लागि भएको सहमति वाङ्ले नै कार्यान्वयनमा ल्याएका थिए । ग्यास उत्खननमा चीनले २ अर्ब सहयोग गर्ने पत्रमा हस्ताक्षर भएको थियो । यस्तै, तातोपानी नाकाको पूर्वाधार सुधार गर्ने सहमति पनि भएको थियो । नेपालमा चिनियाँ पर्यटक बढाउन चिनियाँ नागरिकको भ्रमणलाई प्रोत्साहन गर्ने उनको उद्घोष थियो।
वाङ्ले बाढी प्रभावितका लागि १० अर्ब अमेरिकी डलर सहयोगको समेत घोषणा गरेका थिए । ‘वान वेल्ट वान रोड’ चिनियाँ परियोजनामा नेपाललाई सहयात्री बनाउन उनको भूमिका महत्वपूर्ण थियो।
नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । उच्च तहको भेटमा उनले नेपालसँगको सम्बन्धलाई नयाँ उँचाइमा पुर्याउन चीन तयार रहेको र त्यसमा आफू क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका थिए।
वाङ् सुधारवादी नेताका रुपमा चीनमा लोकप्रिय छन् । उनी कूटनीतिमा अब्बल मानिन्छन् । उनले अमेरिका र भारतलाई चीनसँग नजिक ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
उनी भारतसँग दोक्लमको विवाद चुलिँदा नेपाल भ्रमणमा आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।