काठमाडौं- काठमाडौं महानगरपालिकाले ९ नगरपालिकालाई १-१ करोड रकम हस्तान्तरण गरेको छ।
आईतबार एक कार्यक्रमको आयोजना गरी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ९ नगरपालिकालाई ‘नगर–नगर साझेदारी’ कार्यक्रम अन्तरगत १-१ करोड रकम हस्तान्तरण गरेका हुन्।
हरेक नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने परियोजनामा खर्च गर्ने गरी सो रकम महानगरपालिकाले सो रकम हस्तान्तरण गरेको महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए। 'सो बजेट तोकिएको परियोजनामा खर्च नगरे सम्बन्धित नगरपालिकाले ब्याजसहित फिर्ता गर्नुपर्ने सर्तमा हस्तान्तरण गरिएको हो,' महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले भने।
सम्झौंता अनुसार कीर्तिपुर नगरपालिकाले ‘युद्ध स्मारक पार्क’ निर्माण गर्नुपर्नेछ। शंखरापुर नगरपालिकाले बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान, कागेश्वरी मनोहराले कागेश्वरी मन्दिर र त्यस वरपरको क्षेत्र निर्माणमा सो रकम खर्च गर्नुपर्नेछ। गोकर्णेश्वरले राष्ट्रिय सहिद तथा शान्ति पार्क क्षेत्रमा गोकर्णेश्वर पार्क निर्माण गर्ने, बुढानिलकण्ठले बुढानिलकण्ठ पार्क, तारकेश्वरले तारकेश्वर धाम, नागार्जुनले गणेशमान स्मृति पार्क, चन्द्रागिरीले उद्यान निर्माण र दक्षिणकालीले दक्षिणकाली मन्दिर निर्माणमा खर्च गर्नुपर्ने समेत जानकारी दिए।
सम्झौता अनुसार महानगरपालिकाले हरेक वर्ष सो परियोजनाका लागि आवश्यक बजेटको व्यवस्था गर्नेछ। काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले महानगरपालिकाले सबै नगरपालिकासँग सहकार्य गरेर काठमाडौं महानगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन हरेक नगरपालिकासँग साझेदारी कार्यक्रम नै संचालन गरेको स्पष्ट पारिन्।
काठमाडौं महानगरपालिकाले यस अघि नै टोखा नगरपालिकालाई १ करोड रकम हस्तान्तरण गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।