काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले बेलायत सरकारले गोर्खा सैनिकमाथि गरेको विभेद अन्त्यका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेका छन्।
सांसद भट्टराईले गोर्खा सैनिकलाई दिने तलब, भत्ता लगायतको सुविधामा समेत बेलायत सरकारले विभेद गरिरहेको उल्लेख गर्दै तत्काल सो समस्या समाधान गर्न सरकारसँग माग गरे। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले बेलायती सेनामा भर्ना भएका गोर्खा सैनिकहरुमाथि भएको विभेद अन्त्यका लागि तत्काल उच्चस्तरीय वार्ता समिति गठन गरी द्विपक्षीय वार्ता गरेर सो समस्या समाधान गर्न पनि सरकारलाई सचेत गराए।
सन् १९९३ अघि गोर्खा सैनिकमा भर्ना भएका र सन् १९९७ अघि ब्रिटिस सेनाबाट सेवा निवृत्त भएकाहरुलाई बेलायत सरकारले पेन्सन लगायतका सुविधामा पनि विभेद गरेकाले त्यसको अन्त्यका लागि सरकारले उच्चस्तरीय वार्ता समिति गठन गरी समस्या समाधानका लागि पहल गर्नुपर्ने सांसद भट्टराईको भनाइ छ।
सांसद भट्टराईले ब्रिटिस सेनामा रहेका गोर्खा सैनिकहरुको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पहल गर्दै आए पनि त्यो पर्याप्त नभएको पनि स्मरण गराए। उनले बेलायती सेनामा नेपाली महिलालाई पनि भर्ना गर्ने लगायतका विषयमा पनि आवश्यक छलफल गरी बेलायत सरकारसँग समझदारी गर्न सरकारलाई सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।