काठमाडौं– पूर्व अर्थमन्त्री तथा नेकपा नेता भरतमोहन अधिकारीलाई ह्याम्स अस्पताल, धुम्बराहीमा सारिएको छ। एक महिनादेखि बिरामी उनको मेडिसिटी हस्पिटल, नख्खुमा उपचार भइरहेको थियो।
उपचारबाट अपेक्षित लाभ नमिलेपछि ह्याम्स सारिएको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले बताएका छन्। मेडिसिटीमा अधिकारीको उपचारमा लापरबाही भएको आरोप समेत नेता थापाले लगाए।
उनले नेता अधिकारीलाई ह्याम्स सारिएको जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, 'बितेको एक महिनाको अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँको उपचारमा घोर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेको अनुभूति जो कोहीलाई भएको छ।'
अधिकारीको उपचार गराइरहँदा पनि अस्पतालले कुनै सूचना उपचार बुलेटिन ननिकालेको बताउँदै उनले प्रश्न गरेका छन्, 'फोक्सोमा जमेको कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएको होला?'
८२ वर्षीय वरिष्ठ राजनीतिज्ञ र जनप्रिय पूर्व अर्थमन्त्रीको उपचारबारे आवधिक रूपमा जनतालाई नै जानकारी गराउनुपर्नेमा परिवारजनलाई नै गुमराहमा राख्ने अस्पतालको जवाफदेहीताबारे बुझ्न समेत मुस्किल परेको थापाले उल्लेख गरेका छन्। 'खासमा यो अस्पताल कसको हो? भरतमोहन अधिकारीको त यो हविगत बनाइन्छ भने सर्वसाधारणले यहाँ कुन हालत भोगिरहनुपरेको होला?' उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।