फाइल तस्बिर
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले सामावेशी भएकैले नेपाली क्रिकेट टिमले सफलता हासिल गरेको बताएका छन्।
बिहीबारको संसदीय सुनुवाइको बैठकमा बोल्दै भट्टराईले समावेशीतामा शक्ति भएको भन्दै केही फेहरिस्त प्रस्तुत गरेका थिए।
'भर्खरै क्रिकेटमा हामीले धेरै राम्रो सफलता हासिल गर्यौँ। क्रिकेटको टिम हेर्ने हो भने सानदार समावेशी टिम थियो', उनले भने, 'सोमपाल कामीदेखि विभिन्न जातका खेलाडी थिए। मल्ल, लामिछाने तथा भेषवाकर जस्ता खेलाडी भएको सानदार समावेशी टिम भएकाले नेपालले जितेको हो। लामिछाने मात्रै भएको भए के हुन्थ्यो, हुन्थ्यो। नेपाल समावेशीतामा रमाउँछ। सोमपाल कामीले छक्का हान्दा कट्टर बाहुनहरूले पनि ताली पिट्छन्।'
भट्टराईले पृथ्वीनारायण शाहको नेतृत्वमा चलेको एकीकरण प्रक्रिया पनि जहाँसम्म नेपाल थियो, त्यहाँका सबै जातजातिको सामूहिक प्रयत्न भएको बताए। एकीकरण अभियानमा बिसे नगर्चीदेखि धेरै महिलाहरुले पनि साथ दिएको उनले बताए।
'ब्रिटिशसँगको लडाइँमा पनि महिलाहरूले घरेलु हतियारको साथमा बलियो ब्रिटिश साम्राज्यको विरुद्धमा लडेका थिए', उनले भने।
उनले सशस्त्र क्रान्तिमा पनि महिला, दलित तथा मधेसी लगायत सबैको उत्साहजनक सहभागिता रहेको बताए। '१७ हजार मानिसले त्यो द्वन्द्वमा ज्यान गुमाए', उनले भने, 'उनीहरु बितेर गए दुःखको कुरा हो तर त्यहाँ पनि समावेशीता नै देखिन्छ।'
राजदूत नियुक्तिका लागि गरिएको सिफारिसको विषयमा छलफल गर्न उपस्थित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भट्टराईले समावेशीता ख्याल गर्न सुझाएका थिए।
'नेपाली विशेषताहरुप्रति गहिरो अध्ययन राख्नुहुने मन्त्री हामीले पाएका छौं', भट्टराईले भने, 'त्यसैले अस्तिको हामीसम्म आएको सिफारिसमा मन्त्रीज्युको बुझाइ अनुसार भएन कि भन्ने हामीलाई लागेको छ। हामीलाई त्यसमा चिन्ता लागेको छ।'
यस्ता कुराले गर्दा नेपाललाई अर्को दिशातिर लैजान सक्ने व्यक्ति वा संस्थाले गलत ढंगले प्रयोग नगरुन् भन्नका निमित्त नेपाल सरकारको निर्णयबाट नै निराश बनाउनुपर्ने भट्टराईले बताए।
'अब जति पनि नियुक्ति यसमा बाँकी छन्', उनले थपे, 'संसदीय सुनुवाइमा यो प्रश्न नउठोस् भन्नेमा मन्त्रीज्युको ध्यान जाने छ र प्रतिवद्धताको अपेक्षा पनि गर्दछौं।'
परराष्ट्रमन्त्री ज्ञवालीले अबदेखि राजदुत नियुक्ति गर्दा समावेशीताको मर्म अनुसार नै गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।