काठमाडौं– वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाका लागि काठमाडौं उपत्यकामा पाउने सिटको बाँडफाँट टुंगो लगाएको छ।
बिहीबार बसेको कार्यदलको बैठकमा काठमाडौं उपत्यकाभित्र प्रतिनिधिसभा र प्रदेशसभाको ४५ सिटमध्ये नेकपा एमालेले ३४ र माओवादी केन्द्रले ११ सिट लिने सहमति भएको हो । माओवादी केन्द्रले प्रदेशतर्फ ३० मध्ये ७ सिट पाउने भएको छ।
सहमति अनुसार, काठमाडौं उपत्यकाका १५ सिटमध्ये माओवादीले तीन सिट पाउने भएको छ।
माओवादीले काठमाडौं क्षेत्र नम्बर ६, ८ र १० पाउने भएको छ । त्यस्तै, प्रदेशतर्फ क्षेत्र नम्बर ३, ६ र १० मा दुईमध्ये एक–एक सिट माओवादीले लिने सहमति भएको छ।
काठमाडौंका प्रतिनिधिसभाका ७ र प्रदेशसभाका १७ निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारलाई माओवादीले समर्थन गर्ने सहमति भएको छ । यस्तै, भक्तपुरमा माओवादीले प्रदेशसभामा एक सिट पाउनेछ भने प्रतिनिधिसभाका दुवै र प्रदेशसभाका तीन सिटमा उसले एमालेलाई सघाउनेछ।
ललितपुरको क्षेत्र नम्बर ३ माओवादीले पाउने भएको छ । प्रदेशसभातर्फ माओवादीले ललितपुरमा तीनै क्षेत्रबाट एक–एक सिट पाउनेछ । एमालेले प्रतिनिधिसभामा क्षेत्र नम्बर १ र २ पाउनेछ भने प्रदेशसभामा तीन वटै क्षेत्रका एक–एक सिट पाउने सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।