जनकपुर- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले धनुषा र महोत्तरीको सीमामा पर्ने रातु पुलको औपचारिक उद्घाटन गरेका छन्।
पूर्व–पश्चिम राजमार्गको अन्तर्गत सीमा नदीमा बनेको सो पुल निर्धारित अवधिभन्दा १६ महिनापूर्व नै सम्पन्न भएको थियो।
यसअघि २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खम्बा भासिएपछि आवतजावतमा कठिनाई भएको थियो।
विसं २०७३ असार २९ मा सम्झौतापत्रमा हस्ताक्षर गरेको निर्माण कम्पनी कालिका टु दी रसुवा जेबी काठमाडौंले २०७६ पुस मसान्तमा पुल निर्माण सम्पन्न गर्ने बताएको थियो।

२ सय ५० मिटर लम्बाई र १० दशमलव ९ मिटर चौडाइको यो पुल निर्माण काम सकिएर साउन–भदौ देखि नै प्रयोगमा ल्याई सकेपनि औपचारिक उद्घाटन भएको थिएन।
आइगर्डर (प्रिस्टेस) डिजाइनबाट ६ खण्डमा निर्माण गरिएको यो पुल दुई लेनको छ। यसमा १०/१० टन भार क्षमताका दुई सवारी दुइतर्फी रूपमा एकसाथ आवतजावत गर्नसक्ने निर्माण कम्पनीका साइट इन्चार्ज कृष्ण ढुङ्गेलले बताए।
२०७३ असार २९ गते पुल निर्माणको ठेक्का सम्झौता भएको पुल २४ करोड ६० लाखमा निर्माण सम्पन्न भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।