काठमाडौं- सर्वोच्चको आदेशले निर्वाचनमा असर पुर्याउने शंका गर्दै नेकपा एमालेले समयमै निर्वाचन गराउन माग गरेको छ। बालकोटस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको स्थायी समिति बैठकले समयमै निर्वाचन गराउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो।
निर्वाचन आयोगले फरक-फरक मतपत्रको व्यवस्था गरेको र यसले जनताको मताधिकारमा कुनै बाधा नपुग्ने भएकाले मतपत्रमा अल्झिएर निर्वाचन सार्न नहुने एमालेको भनाइ छ। 'सर्वोच्चको आदेशप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको छ। मुलुकको संक्रमणकाल अन्त्य गर्न निर्वाचन महत्वपूर्ण छ। निर्वाचनको प्रक्रियालाई बिना कुनै अवरोध निष्कर्षमा पुर्याउन एमाले निर्वाचन आयोग र सरोकारवाला पक्षको ध्यानाकर्षण गर्दछ,' एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छापिसकेको आयोगलाई सर्वोच्चले प्रत्यक्षतर्फ अलग-अलग मतपत्र छाप्न ध्यानाकर्षण गराएको थियो। निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छाप्ने तयारी गरेको समयमा अदालतबाट यस्तो आदेश आएको हो।
राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले हालेको अपहेलनाको रिटमा सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले निर्वाचन आयोगलाई लिखित प्रतिवेदन पेश गर्न बुधबार आदेश दिँदै भनेको छ, 'दुई भिन्न-भिन्न ऐन बमोजिम व्यवस्थित गर्नुपर्ने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रयोजनका लागि अलग-अलग मतपत्र छाप्नुपर्ने वाध्यात्मक कानुनी व्यवस्था अनुरुप यस्तो मतपत्र छाप्न कार्यमा के-कति प्रगति भएको छ? सो सम्बन्धमा भएको प्रगति र अलग-अलग मतपत्र छपाइ गर्ने सम्बन्धमा गरिएको सुनिश्चितताको कार्यप्रगतिको लिखित जवाफ पेश गर्नु गर्न लगाउनु।'
यसअघि नेता शुक्लाले छुट्टाछुट्टै मतपत्र हुनुपर्ने भनी हालेको रिटमा अन्तरिम आदेश दिनु नपर्ने भन्दै कात्तिक १ गते सर्वोच्चले प्रत्यक्षतर्फ भने दुईवटा मत पत्र बनाउने कानुनी व्यवस्थाप्रति आयोगलाई ध्यानाकर्षण गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।