काठमाडौं- सरकारले प्रदान गर्ने कर सहुलियत प्राप्त गर्न विशेष आर्थिक क्षेत्रमा स्थापना भएको उद्योगबाट उत्पादन भएका कम्तीमा ६० प्रतिशत वस्तु वा सेवा निर्यात गर्नुपर्ने नयाँ व्यवस्था लागू गर्ने तयारी सरकारले गरेको छ।
सरकारले विशेष आर्थिक क्षेत्र ऐन २०७३ लाई संशोधन गर्ने बनेको विधेयकमा यस्तो व्यवस्था गर्न लागेको हो।
सो विधेयक अहिले संघीय संसदको प्रतिनिधिसभामा दर्ता समेत भइसकेको छ। ६० प्रतिशत वस्तु वा सेवा निर्यात गर्नुपर्ने व्यवस्थामा पनि अनुमति पत्रवालाले उद्योग सञ्चालनमा आएको मितिले एक वर्षभित्र उद्योगबाट उत्पादित वस्तु तथा सेवा आन्तरिक बजारमा बिक्री गर्न सक्ने व्यवस्था पनि विधेयकमा छ।
यसैगरी उद्योगले उत्पादन गरेका वस्तु तथा सेवा नेपालको आन्तरिक बजारमा बिक्री गर्ने भएमा त्यस्तो वस्तु वा सेवा बिक्री गर्नु अघि तोकिएका सर्त खुलाई सोको जानकारी विशेष आर्थिक क्षेत्र प्राधिकरणलाई जानकारी गराउनु पर्ने विधेयकमा उल्लेख छ।
आन्तरिक बजारमा सेवा वा वस्तु बिक्री गर्ने अनुमतिपत्रवालालाई भने कर छुट तथा तोकिएका अन्य सुविधा प्रदान नगरिने समेत विधेयकमा उल्लेख छ।
स्थापना र सञ्चालन निजी क्षेत्रबाट
संसदमा छलफल सुरु भएको विशेष आर्थिक क्षेत्र ऐन २०७३ को पहिलो संशोधनका लागि बनेको विधेयकमा विशेष आर्थिक क्षेत्र स्थापना र सञ्चालन निजी क्षेत्रबाट समेत गराउने सकिने उल्लेख छ।
नेपाल सरकारले प्राधिकरणको सिफारिसमा निजी क्षेत्रबाट विशेष आर्थिक क्षेत्र स्थापना गरी त्यस्तो क्षेत्रको सञ्चालन, व्यवस्थापन गर्न र पूर्वाधार संरचनाको विकास गर्न निजी क्षेत्रलाई स्वीकृति दिने सक्ने उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।