काठमाडौं- १७ वर्षे हेलिकोप्टर सेवाको अनुभव लिँदै 'फिक्स्ड विङ' (आन्तरिक उडान)मा प्रवेश गरेको श्री एयरलाइन्सका सिआरजे जेट जहाजले अन्तर्राष्ट्रियतर्फ चार्टर उडान गर्ने अनुमति पाएको छ।
२ वर्षदेखि लाइसेन्सका लागि प्रक्रियामा गएको श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए।
श्रीले पछिल्लो समय ल्याएको सिआरजे जेट विमान हेलिकोप्टरको अन्तर्राष्ट्रिय उडान लाइसेन्समा थप गरिएको आर्चायले जानकारी दिए। ‘श्री एयरका हेलिकोप्टरले पहिले नै चार्टरतर्फ अन्तर्राष्ट्रिय उडान अनुमति लिएको थियो’, एयरलाइन्सका बजार व्यवस्थापक अनिल मानन्धरले भने, ‘हेलिकोप्टरको लाइसेन्समा सिआरजे जेट विमान पनि थप भएका हो।’
गतवर्षको भदौबाट व्यावसायिक यात्रा सुरु गरेको श्री एयरलाइन्सले पहिलो पटक अन्तर्रा्ष्ट्रिय लाइसेन्स पाएको हो। श्रीका अहिले ४ वटा जहाज छन्। आन्तरिक उडानमा श्रीले विराटनगर, भद्रपुर, भैरहवा, नेपागञ्ज, धनगढीमा नियमित उडान गर्दै आएको छ। आन्तरिक उडानमा कुल यात्रुको १६ प्रतिशतभन्दा बढी यात्रु बोक्न सफल कम्पनी श्री एयरलाइन्स हो। अन्तर्राष्ट्रिय उडानका लागि एयरलाइन्सलाई अब उडान अनुमति (एओसी) आवश्यकता पर्छ। त्यसका लागि केही समय लाग्ने छ।
एओसी पाउनासाथ जहाज उड्न सुरु गर्ने कम्पनीले जनाएको छ। साथै श्रीले बम्वार्डियर क्यू ४०० जहाज ल्याउन पनि अनुमति पाइसकेको छ। नयाँ जहाज आउने क्रममा छ। नयाँ जहाज आउना साथ पोखरालगायत थप अन्य गन्तव्यमा समेत उडान गर्ने तयारी एयरलाइन्सले गरिसकेको छ। श्रीसँग बम्बार्डिएरको ५० सिटका दुइ वटा र ७० सिटका दुई वटा गरी चार वटा जहाज छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।