काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राजनीतिक दलहरुले पुरानै अनुहारलाई प्रतिस्पर्धामा उतारेका छन्। मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनमा वाम र लोकतान्त्रिक गठबन्धनले ३६ जना पुराना अनुहार दोहोर्याएका हुन्।
कांग्रेस, एमाले र माओवादी केन्द्रले पटक–पटक अवसर पाएका ३६ नेतालाई पुन: प्रतिस्पर्धामा अघि सारेका छन्। कांग्रेस नेतृत्वको गठबन्धनले उठाएका उम्मेदवारमा १९ जना पूर्वसांसद छन् भने वाम गठबन्धनबाट १७ पूर्वसांसदले अवसर पाएका छन्। संविधानसभा निर्वाचनमा पराजित भएका कतिपय व्यक्तिसमेत टिकट पाएर चुनावी मैदानमा छन्।
कांग्रेस गठबन्धनका पुरानो अनुहारमा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, मोहनबहादुर बस्नेत र भीष्मराज आङ्देम्बे छन्। यी व्यक्ति दुई पटकभन्दा बढी समय सांसद भइसकेका छन्। यस पटक पनि अवसर पाउने पुराना अनुहारको सूचीमा टेकबहादुर गुरुङ, सरस्वती बजिमया, राजीवविक्रम शाही, रोमी गौचन थकाली, अमर सिंह पुन, दिलमान पाख्रिन, चीनकाजी श्रेष्ठ, दिलबहादुर घर्ती, चम्पादेवी खड्का, रामहरि खतिवडा र हस्तबहादुर मल्ल छन्। गठबन्धनका तर्फबाट उठेका पुरानै अनुहार नयाँ शक्तिका बाबुराम भट्टराई र राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणा छन्। राणा आठौं पटक र भट्टराई तेस्रो पटक निर्वाचनको मैदानमा छन्।
वाम गठबन्धनका तर्फबाट उठेका १७ जना पुराना अनुहारमा अधिकांश माओवादीका छन्। माओवादी केन्द्रले ८ जनालाई पुन: अवसर दिएको छ। अवसर पाउने नेताहरुमा नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, देवेन्द्र पौडेल, शक्तिबहादुर बस्नेत र श्यामकुमार श्रेष्ठ छन्।
एमालेले भने ९ पुराना उम्मेदवारलाई फेरि अवसर दिएको छ। सांसद भइसकेका विशाल भट्टराई, पार्वत गुरुङ, गणेश सिंह ठगुन्ना, धनबहादुर बुढा, यज्ञराज सुनुवार, जनार्दन ढकाल र शेरबहादुर तामाङलाई एमालेले फेरि उम्मेदवार बनाएको हो।
संविधानसभा पहिलो र दोस्रो निर्वाचनमा काठमाडौँबाट पराजित पार्टीका सचिव योगेश भट्टराईलाई एमालेले ताप्लेजुङबाट उठाउने भएको छ।
सिट संख्या बढाउने दाउ
निर्वाचनमा पुरानै व्यक्तिलाई उम्मेदवार बनाउनुको कारण सम्मानजनक सिट संख्याका लागि भएको पार्टीका नेताहरुले बताएका छन्। विघटित संसदमा पहिलो पार्टी बनेको कांग्रेसले वाम गठबन्धनालाई चुनौती ठानेको छ। त्यसैले कांग्रेसले पुरानै अनुहारलाई निरन्तरता दिएको हो। यद्यपि पहिलो चरणको निर्वाचनका उम्मेदवारलाई मात्रै हेरेर नयाँले अवसर पाउँदैनन् भन्नु हतारो हुने कांग्रेस नेता महेश आचार्यको भनाइ छ। 'पहिलो चरणको निर्वाचनमा नयाँले अवसर नपाउँदा दोस्रो चरणमा पनि पाउँदैनन् भन्ने होइन, नयाँले पनि निर्वाचनमा उम्मेदवार हुने अवसर पाउँछन्,' उनले भने।
स्थानीय तहमा पहिलो पार्टी बनेको एमाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि पहिलो पार्टी बन्ने् दाउमा छ। त्यसैले उसले पनि पुरानै अनुहार दोहोर्याएको दिएको छ। 'जनमत राम्रो भएका नेताहरुलाई एमालेले धेरै अवसर दिए पनि नयाँ अनुहारले समेत अवसर पाएका छन्,’ एमाले सचिव प्रदीप ज्ञवालीले भने।
यता माओवादी केन्द्र पनि आफ्नो सिट संख्या बढाउने दाउमा छ। एमालेसँग चुनावी तालेमेल गरेको माओवादीले सम्मानजनक सिटसहित तेस्रो स्थानलाई निरन्तरता दिने पक्षमा छ। सिट संख्या बढाउने नीति अनुसार पुराना नेतालाई अवसर दिएको पार्टी सचिव टोपबहादुर रायमाझी बताउँछन्। 'हामीले उठाएका पुराना नेता नराम्रा छन् र जनमत राम्रो भएको नेतालाई अवसर दिनु नराम्रो हो र?’ उनी प्रश्न गर्छन्।
पहिलो चरणमा पुरानै अनुहार धेरै हाबी भए पनि दोस्रो चरणको निर्वाचनमा भने नयाँ उम्मेदवारलाई समेत स्थान दिने नेताहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।