काठमाडौं- सरकारले विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई आयकर र त्यस्ता उद्योगले वितरण गर्ने लाभांशमा लाग्ने करमा विशेष छुट दिने भएको छ।
विशेष आर्थिक क्षेत्र ऐन २०७३ लाई संशोधन गर्ने बनेको विधेकमा छुटका विषय समावेश गरिएको छ।
यो विधेयक संघीय संसदको प्रतिनिधिसभामा दर्ता भइसकेको छ।
संसदमा दर्ता भएको विधेयकमा हिमाली जिल्लाका साथै नेपाल सरकारले तोकेको पहाडी जिल्लामा रहेको विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले कारोबार सुरु गरेको मितिले १० वर्षसम्म लाग्ने आयकरमा शतप्रतिशत छुट दिने व्यवस्था गर्न लागेको हो।
साथै त्यसपछिका वर्षमा लाग्ने आयकरमा पनि ५० प्रतिशत छुटको व्यवस्था गरेको छ।
यसैगरी माथि उल्लेखित क्षेत्र बाहेकका अन्य क्षेत्रमा रहेको विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले कारोबार सुरु गरेको मितिले ५ वर्षसम्म आयकरको शतप्रतिशत र त्यसपछिका वर्षमा आयकरको ५० प्रतिशत छुट दिने व्यवस्थामा विधेयकमा रहेको छ।
विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले वितरण गरेको लाभांसमा लाग्ने करको कारोबार सुरु गरेको मितिले ५ वर्षसम्म शतप्रतिशत र त्यसपछिको ३ वर्षसम्म ५० प्रतिशत छुटको पनि विधेयकमा व्यवस्था गरिएको छ।
विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगका विदेशी लगानीकर्ताले विदेशी प्रविधि वा व्यवस्थापन सेवाशुल्क तथा रोयल्टीमा पनि ५० प्रतिशत कर छुट दिने व्यवस्था विधेयकमा व्यवस्था गरिएको छ। तर, विशेष आर्थिक क्षेत्रमा स्थानान्तरण भएका उद्योगले भने यो छुट पाउने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।