काठमाडौ – नेपाल टेलिकमले आजदेखि प्रिपेड मोबाइल सेवामा पनि रोमिङ कल सुविधा उपलब्ध गराउने भएको छ।
टेलिकमले आफ्नो १५औ वार्षिकोत्सवका अवसर पारेर प्रिपेड मोबाइलमा रहेको व्यालेन्सकै आधारमा यस्तो सुविधा उपलब्ध गराउने भएको हो।
यो सुविधा अनुसार ग्राहकले विदेशमा रहँदा नेपाल टेलिकमको प्रिपेड सिममार्फत भ्वाइस, डाटा तथा एसएमएस सुविधा उपयोग गर्न सक्नेछन्।
टेलिकमले सन् २००१देखि पोष्टपेड मोबाइलमा यस्तो सुविधा उपलब्ध गराउँदै आएको थियो। सुरुमा ३० हजार रुपैयाँ धरौटी राखेमा मात्र यो सेवा प्रयोग गर्न पाइने व्यवस्था रहेकोमा हाल १० हजार रुपैयाँ धरौटी कायम गरिएको छ।
तर आजदेखि सुभारम्भ गरिएको प्रिपेडको रोमिङ सुविधामा भने यस्तो धरौटी राख्नु नपर्ने व्यवस्था गरिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए।
टेलिकम प्रधान कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘टेलिकमको सेवालाई सर्वसुलभ र बहुउपयोगी बनाउने नीतिअनुरुप हामीले प्रिपेडमा यस्तो सुविधा थप गरेका हौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।