काठमाडाैं- जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि सरकारले रेल खरिद प्रक्रिया अगाडि बढाएको छ। मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरिद गर्ने निर्णय गरेकाेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमातहतको रेल विभागले खरिद प्रक्रिया सुरु गरेको हो।
जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि प्रक्रिया अगाडि बढिरहेका बेला सरकारले सरकारी स्तरबाटै रेलकाे इन्जिन खरिद गर्न लागेको हो। सरकारी स्तरमा नै २ वटा रेल खरिद गरिने छ। त्यसका लागि विभागले भारतका सरकारी कम्पनीसँग प्रस्ताव माग गरेको छ। केही प्रस्ताव प्राप्त भइसकेका पनि विभागले जनाएकाे छ।
रेलका साथै कर्मचारी तथा प्राविधिक पनि आवश्यक पर्ने भएकाले नेपाली प्राविधिक तथा कर्मचारीलाई तालिमका लागि रेल खरिद गरिने कम्पनीसँगै सम्झौता गर्ने तयारीमा विभाग छ।
पहिलो चरणमा ३५ किलोमिटर लामो उक्त रेलमार्गमा रेल चलाउने बताइएकाे छ। रेलमार्गमा एक चरणको परीक्षण सम्पन्न भइसकेको छ। पुनः एकपटक नेपाली प्राविधिकसहित भारतीय प्राविधिकले पनि रेलमार्गको अनुगमन गर्ने तय भएकोे छ।
बर्दिवास–जनकपुर–जयनगर–कुर्था–विजयपुरा रेल मार्गको लम्बाई ६९ किलोमिटर छ। त्यसमा पनि ३५ किलोमिटर रेलमार्ग निर्माण भइसकेर हस्तान्तरण गर्ने अवस्थामा पुगेको छ। अन्य खण्डको भने निर्माणकार्य जारी छ।
पहिलो चरणमा जयनगर–कुर्था, दोस्रो चरणमा कुर्था– भङ्गहा (१७ किलोमिटर) तथा तेस्रो चरणमा भङ्गहा–बर्दिवास (१७ किलोमिटर) रेल मार्ग विस्तार गरी सञ्चालनमा ल्याइने छ। भारत सरकारको १० अर्ब रुपैयाँ सहयोगमा उक्त रेलमार्ग निर्माण भएको हो।
सरकारले चालू आर्थिक वर्षको बजेटमा रेल खरिदका लागि ५० करोड रुपैयाँ विनियोजन गरेकामा २ वटा रेल खरिदका लागि उक्त बजेटले पुग्ने अवस्था नरहेको विभागको भनाइ छ। विभागका अनुसार २ वटा रेल र त्यसमा रहने ५ देखि १० वटा डिब्बाका लागि कम्तीमा पनि एक अर्ब ५० करोड रुपैयाँ आवश्यक पर्ने विभाग बताउँछ।
यसका लागि अर्थ मन्त्रालयबाट थप बजेट उपलब्ध हुने विश्वास विभागकाे छ।
मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरिदका लागि सैद्धान्तिक स्वीकृति दिएपछि खरिद प्रक्रिया सुरु भएको विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।