काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उत्साहजनक सहभागिता जनाउन आग्रह गरेका छन्।
छठ पर्वको शुभकामना दिँदै प्रधानमन्त्री देउवाले लोकतन्त्रको उत्सवको रुपमा रहेको निर्वाचनतर्फ देश उन्मु्ख भइसकेकाले त्यसमा उत्साहपूर्वक सहभागिता हुन देशवासीलाई आग्रह गरेका हुन्। निर्वाचन लोकतन्त्रको जग भएकाले त्यसलाई दिगो बनाउनुका साथै राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि मतपत्रमार्फत जनताले अभिव्यक्त गर्ने अवसर भएकाले सदुपयोग गर्न उनको आग्रह छ।
छठमा प्रेम,स्नेह र सामाजिक सद्भाव कायम राख्दै मनाउन पनि प्रधानमन्त्रीले आग्रह गरेका छन्। नेपालीबीचको आपसी सम्बन्धलाई झनै मजबुत बनाउँदै राष्ट्रिय समृद्धि र एकतामा बल पुर्याउन छठले प्रेरणा दिने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
आउँदो निर्वाचनमापर्फत राष्ट्रले नयाँ युगमा प्रवेश गर्ने भन्दै प्रधानमन्त्री देउवाले जनताले लोकतन्त्रको अधिकार प्रयोग गर्दै जनमतमार्फत राष्ट्रलाई नयाँ युगमा प्रवेश गराउने आशा गरेका छन्।
सर्वोच्च अदालतले प्रत्यक्षतर्फ दुई वटा मतपत्र बनाउन गर्न आदेश दिएको समयमा प्रधानमन्त्री देउवाले निर्वाचनमा सहभागी हुन जनतालाई आह्वान गरेका हुन्। बुधबार मात्रै सर्वोच्चले निर्वाचन आयोगलाई प्रत्यक्षतर्फ प्रदेश र प्रतिनिधिसभाका लागि अलगअलग मतपत्र बनाउने विषयमा भएको प्रगतिको विवरण माग गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।